अन्नपूर्णको फेदीमा नारच्याङ ताल (भिडियो सहित )

बेनी, १३ कात्तिक ः अन्नपूर्ण, फ्रेन्क, तिलीचो र निलगिरि हिमालको फेदी । निलो रंग र गोलो आकारको तलाउ । हिमालको छायाँ हेर्न सकिने मनमोहक दृष्य । धेरै हिमालको चुचुरो एकै ठाउँबाट अवलोकन गर्न सकिने । वरपर सुख्खा र उजाड पहाड ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने अन्नपूर्ण आधार शिविर स्थित पञ्चकुण्ड नारच्याङ तालको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ । तर पूर्वाधार र प्रचारप्रसारको अभावका कारण तालको पर्यटन विकास हुन नसकेको नारच्याङका डिलबहादुर गर्बुजाले बताउनुभयो ।

समुन्द्रि सतहदेखि चार हजार एक सय मिटरको उचाईमा अवस्थित पञ्चकुण्ड नारच्याङ ताल करिब एक किलोमिटर लम्बाई र पाँच सय मिटर चौडाईमा फैलिएको छ । अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी संकलन भएर प्राकृतिक हिमताल बनेको बर्षौ भएपनि यसको चर्चा खासै छैन् ।

हालै अन्नपूर्ण आधार शिविर पुगेर फर्कीएकी पोखराकी तानी थापाले तालको सौन्दर्यले मोहित र प्रफुल्लित बनाएको अनुभव सुनाउनुभयो । ‘ताल र हिमाल हेरेपछि बाटोको सबै दुख कष्ट भुलियो,’ थापाले भन्नुभयो ‘यहाँको प्राकृतिक सौन्दर्य वर्षण गरिसाध्य छैन् ।’

भौगोलिक विकटताका कारण ताल सम्म पुग्ने व्यवस्थित पदमार्गको अभाव छ । प्राकृतिक र धार्मिक महत्वका बारेमा प्रचारप्रसार हुन सकेको छैन् । न्युन मात्रामा भक्तजन र पर्यटक पुग्ने गरेका नारच्याङका चन्द्रजित पुनले बताउनुभयो । ‘यहाँ रक्त, दुग्ध, ताम्र, शुद्ध, स्वर्ण गरि पाँच वटा छुट्टा, छुट्टै ताल छन्,’ पुनले भन्नुभयो ‘यो तालको धार्मिक महत्वका बारेमा धार्मिक ग्रन्थ पञ्चरामायणमा उल्लेख छ ।’

परापुर्व कालमा कागभुसिन्दा नाम गरेका एक जना ऋषीले तपस्या गरेर ज्ञान आर्जन गरेर यो तालको बारेमा विभिन्न ठाउँमा प्रचारप्रसार गरेका थिए । पितृको सम्झनामा पिण्डदान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ । ताललाई धार्मिक गन्तब्यको रुपमा विकास गराउन शिव मन्दिर र वौद्ध गुम्बा समेत निर्माण गरिएको छ । चन्द्रजित पुनले व्यक्तिगत लगानीमा सार्वजनिक शौचालय बनाउनुभएको छ ।

सन १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोजले पहिलो पटक आरोहण गरेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग आठ वर्षअघि मात्र पहिचान भएको थियो । यसअघि मुस्ताङको ताउलुङ हुदै पाँच देखि सात दिन लगायर भिर र जंगलको बाटोमा जोखिमपूर्ण यात्रा गरेर आधार शिविर पुग्नुपर्दथ्यो ।

यसअघि यहाँसम्म जाने पदमार्ग नहुँदा आधार शिविर र तालको पहिचान गुमनाम थियो । निलगिरि हिमाल पनि नजिकै भएकाले यसअघि यसलाई निलगिरि ताल भन्ने गर्दथे । नारच्याङ गाउँदेखि तीन दिनको यात्रा पछि आधार शिविर पुग्न सकिन्छ । आधार शिविर र तालको एकिकृत पर्यटन विकासका लागि स्थानीयबासीहरुले पदमार्ग, झोलुङ्गे पुल, आश्रयस्थल निर्माणमा तिब्रता दिएका छन् ।

पदमार्ग पर्यटक हिड्नलाई अझै योग्य भइसकेको छैन् । स्तरोन्नती गरेर पदमार्ग सञ्चालनको तयारी गरेका छन् । ताल परिसरमा भक्तजन तथा पर्यटकलाई लक्षित गरेर १५ जना क्षमताको आश्रयस्थल बनाइएको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताउनुभयो । गहिराइको मापन हुन सकेको छैन् । तटबन्ध गरेर तालको पहिराई तथा क्षेत्रफल बढाउने र सौन्दर्यकरण गर्ने योजना बनाएको नारच्याङका अगुवा सुवास विश्वकर्माले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: