सडकले जोडिदै मुस्ताङ र डोल्पा

निरज थकाली
जोमसोम, ११ कात्तिक ः कर्णाली प्रदेशको डोल्पा र गण्डकी प्रदेशको मुस्ताङ जिल्ला सडक सञ्जालमा जोडिने भएका छन् ।

संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ता हुदै उपल्लो डोल्पाको छार्कालाई सडकले जोड्न लागेको हो ।

यो सडक निर्माणका लागि बाग्लुङ स्थित सडक डिभिजन कार्यालय मार्फत कार्यान्वयन हुने गरि चालु आर्थिक वर्ष २०७६÷७७ मा रु. दुई करोड बिनियोजन भएको मुस्ताङका प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले जानकारी दिनुभयो ।

“योजना कार्यान्वयनका लागि हामी सहित प्राबिधिकहरुको टोलीले स्थलगत अध्ययन गरिसेका छौ” सांसद तुलाचनले भन्नुभयो “यसै आर्थिक वर्षभित्र मुस्ताङ र डोल्पाको याखर्क सम्म सडक पु¥याउने योजनामा छौ ।”

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ मा पर्ने साङ्ता गाउँसम्म बेनी–जोमसोम–कोरला सडक अन्तरगत पर्ने एक्लेभट्टी देखि ४६ किलोमिटर सडकको ट्याक (मार्ग) खुलीसकेको छ । यो कच्चि सडकमा सवारी सञ्चालन भइरहेको छ ।

साङ्ता देखि डोल्पाको याखर्कसम्म जोड्न ४० किलोमिटर सडक निर्माण गर्नुपर्ने अनुमान छ । साङ्ता गाउँ मुस्ताङको दुर्गम बस्ति हो । उपल्लो डोल्पाको छार्कादेखि मुस्ताङ तर्फपनि सडक निर्माण भइरहेको छ ।

यो कर्णाली र गण्डकी प्रदेश जोड्ने सडक पनि हुनेछ । मुस्ताङ र डोल्पा सडक सञ्जालमा जोडिएमा उपल्लो डोल्पाका बासिन्दाको जनजिवनमा धेरै सहज हुने बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका–५ का वडा अध्यक्ष रक्की गुरुङले बताउनुभयो ।

“अझै यातायातको सुबिधा नभएको उपल्लो डोल्पाका बासिन्दालाई राजधानी काठमाडौ आवत जावत गर्न यो सडक छोटो हुन्छ” उहाँले भन्नुभयो “कृषि उपज, जडिबुटी निकासी, निर्माण सामग्री र खाद्यान्न ढुवानी सस्तो पर्छ ।”

मुस्ताङ हुदै उपल्लो डोल्पा भ्रमणमा जाने पर्यटकको संख्या समेत बढ्ने वडा अध्यक्ष गुरुङले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: