जापानमा विदेशी नागरिकको संख्या अहिलेसम्मकै उच्च

टोकियो । जापानमा विदेशी नागरिकहरुको संख्या अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । इमिग्रेशन सर्भिसेज एजेन्सीले शुक्रवार सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो ।

तथ्याङ्कअनुसार जुनको अन्त्यसम्मा जापानमा आवासीको रुपमा दर्ता भएका विदेशीहरुको संख्या २८ लाख २९ हजार ४ सय १६ पुगेको छ । प्राविधिक क्षेत्रमा इन्टर्नमा भएको वृद्धि र घरेलु श्रम बजारमा कादारको अभाव भएपछि विदेशी कामदार ल्याउने सरकारी नीतिका कारण विदेशी आवासीको संख्या बढेको हो । तथ्याङ्कको यो आकार गत वर्षका सोही अवधिको तुलनामा ३ दशमलव ६ प्रतिशत धेरै भएको बताइएको छ ।

समीक्षा अवधिमा प्राविधिक ट्रेनीहरुको कुल संख्या ३ लाख ६७ हजार ७ सय ९ पुगेको छ । यो विदेशी विद्यार्थीको तुलनामा धेरै हो । समीक्षा अवधिमा विदेशी विद्यार्थीहरुको संख्या भने ३ लाख ३६ हजार ८ सय ४७ रहेको छ । काम सँग सम्बन्धित भिषाधारीहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको एजेन्सीको भनाई छ ।

समीक्षा अवधिमा इञ्जिनियर र विदेशी सेवासँग सम्बन्धित भिषामा आउनेको संख्या क्रमशः २ लाख ५६ हजार ४ सय १४ र १३ हजार ३८ रहेको छ । उच्च सिप भएका यी पेशाकर्मीहरुको यो संख्या गर्त वर्षको सोही अवधिको तुलनामा क्रमशः १३ दशमलव ६ प्रतिशत र १७ दशमलव ९ प्रतिशत धेरै हो । त्यस्तैगरी, अप्रिलमा खडा गरिउको नयाँ भिषा स्टाटसमा आउनेको संख्या भने २० रहेको छ । अक्टोबर १८ सम्ममा यो स्टाटस प्राप्त गर्ने मानिसको संख्या भने ६ सय १६ रहेको बताइएको छ ।

जापानले यो भिषामा चालु र आगामी आवमा ४७ हजार ५ सय ५५ जनालाई ल्याउने अपेक्षा गरिएको छ । दर्ता भएका आवासीहरुमध्ये स्थायी आवासीको संख्या ७ लाख ८३ हजार ५ सय १५ रहेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १ दशालव ५ प्रतिशत धेरै हो । राष्ट्रियताको हिसाबले चिनियाँहरुको संख्या सबैभन्दा धेरै अर्थात् ७ लाख ८६ हजार २ सय ४१ रहेको छ । दोस्रो र तेस्रो स्थानमा दक्षिण कोरिया र भियतनामीहरु छन् । उनीहरुको संख्या क्रमशः ४ लाख ५१ हजार ५ सय ४३ र ३ लाख ७१ हजार ७ सय ५५ रहेको छ ।

जापानको ४७ ओटै प्रिफेक्चरमा विदेशी आवासीहरुको संख्या बढेको छ । सबैभन्दा धेरै वृद्धि टोकियोमा भएको माइनिची अनलाइनले उल्लेख गरेको छ ।
साभार : नेपाली इन जापान

Leave a Reply

Scroll to Top
%d bloggers like this: