काठमाडौँ । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हाँस्यटेलिशृङ्खला ‘भद्रगोल’ र ‘सक्किगो नि’ बीचको विवाद सहमतिमा टुङ्गिएको छ ।
‘सक्किगो नि’मा कलाकार कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ लगायत केही कलाकारले निर्वाह गर्दै आएको चरित्र आफ्नो शृङ्खला ‘भद्रगोल’को चरित्र भएको भन्दै मिडिया हवले आपति जनाएपछि दुई शृङ्खलाका निर्माताबीच विवाद चर्केको थियो । उक्त विवाद गत ३ गते प्रहरीमा समेत पुगेको थियो ।
मिडिया हवका मालिक सोम धितालले ‘सक्किगो नि’ नामको टेलिशृङ्खलाले ‘भद्रगोल’को पात्र हुबहु नक्कल गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
‘सक्किगो नि’ निर्माण संस्था जेपिटी क्रिएसनले भने कलाकारको चरित्र आफूले जुनै शृङ्खलामा प्रयोग गर्न पाउने अधिकार भएको दाबी गर्दै आएका थिए ।