महरामाथि दुई अभियोगमा मुद्दा चलाउन प्रहरीको राय

९ कात्तिक, काठमाडौं । शनिबारीय अंकसहित राजधानी काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुमा फरक फरक विषय प्रमुख हेडलाइन बनेका छन् ।

कान्तिपुर दैनिकले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि दुई अभियोगमा मुद्दा चलाउन प्रहरीले राय दिएको समाचार छापेको छ । प्रहरीले पहिलो बलात्कार प्रयास र दोस्रो एउटै कार्यालयकी कर्मचारीमाथि बलात्कार प्रयास गरेको फरक-फरक अभियोगमा मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको कान्तिपुरले लेखेको छ ।

महानगरीय प्रहरी परिसरले अनुसन्धान पूरा गरी शुक्रबार सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको छ ।

गरिमा धानको बीउ नक्कली 

कान्तिपुरमा धेरै फल्ने उन्नत जानको गरिमा भन्दै किसानलाई बिक्री गरिएको धानको बीउ अर्कै जातको भएको पाइएको समाचार पनि छ । असोज बित्दासमेत बाला नलागेपछि कृषि अनुसन्धान परिषद (नार्क)ले उक्त धानको डीएनए परीक्षण गरेको थियो । परीक्षणमा बीउ गरिमाको जातसँग नमिलेको र गरिमा भनेर किसानलाई बिक्री गरिएको बीउ नक्कली भएको समाचारमा उल्लेख छ ।

भारतको रेनोभा सिड्स साइन्स इन्डिया प्रालिले उत्पादन गरेको सो बीउ साउथ इस्ट एसियन सिड कम्पनीले प्रालिले ल्याएर नेपालमा बेचेको थियो । धान भित्राउने समयसम्म पनि बाला नलागेपछि किसानहरुको लगानी खेर गएको छ ।

नेकपामा गुट : लाग्दा खातैखात, नलाग्दा जिल्ल

अन्नपूर्ण पोष्ट दैनिकले नेकपाभित्रको गुटको समाचार लेखेको छ । ‘नेकपामा गुट : लाग्दा खातैखात, नलाग्दा जिल्ल’ शीर्षकको समाचारमा अन्नपूर्ण लेख्छ, ‘सत्तासिन नेकपामा कसैलाई अवसरको खातैखात लाग्छ, त कोही चिल्लै हुन्छन् । सत्तासिन नेकपाभित्र पूर्वमाओवादीमा दुई पटक चुनाव जितेका एक जनाबाहेक सबै मन्त्री बनिसके । तर, पूर्वएमालेतिर भने गुट र व्यक्तिगत इगोका कारण १० जना सांसद दुई पटक चुनाव जितेर पनि मन्त्री बन्न बञ्चित छन् ।

नेकपा नेत्रृ अष्टलक्ष्मी शाक्यले भनेकी छन्, ‘पार्टीमा दुःख गर्नेले गरेको गर्‍यै छन्, अवसर भने नेतानिकटले मात्रै पाइरहेका छन् । यही विकृतिका कारण पार्टी लथालिंग छ । गुट, चाकरी र परिवारवाद हाबी छ ।’

प्रधानमन्त्री कार्यालयले ‘सरकार हाजिर छ’ कार्यक्रम ल्याउने

राजधानी दैनिकमा सरकारले जनताका समस्या, गुनासा र कामहरु समयमै सम्बोधन गर्ने उद्देश्यसहित ‘सरकार हाजिर छ’ नामक नयाँ कार्यक्रम ल्याउने गृहकार्य अघि बढाएको समाचार छ । जनगुनासो बुझेर तत्काल समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ‘सरकार हाजिर छ’ नामक कार्यक्रम सञ्चालनमा ल्याृउन लागेको समाचारमा उल्लेख छ ।

राजधानीमा तिहारको सुरक्षाका लागि राजधानी काठमाडौंका नाकामा कडाइ र कुकुरबाट चेकजाँचको व्यवस्था मिलाइएको समाचार पनि छ ।

गोरखापत्र दैनिकले अजरबैजानको राजधानी बाकुमा सुरु भएको असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधनसम्बन्धी विषयलाई मुख्य समाचारको रुपमा छापेको छ ।

राजा कागको संख्या विश्वमै कम

आज काग तिहारको सन्दर्भ पारेर राजा कागको संख्या विश्वमै कम भएको समाचार पनि गोरखापत्रमा छ । चराविद हेमसागर बरालका अनुसार विश्वभर झण्डै पाँच दर्जन प्रजातिका काग पाइन्छ । तीमध्ये नेपालमा ६ प्रजातिका काम पाइन्छ । नेपालमा धेरै संख्यामा रहेको घर काग हो । घर कागको घाँटी र छातिमा खरानी रंगको फुस्रो रौं र अन्यत्र कालो रंग हुन्छ ।

चौथो प्रजातिमा राजा काग पर्छ । चराविद बरालका अनुसार यो अन्य कागभन्दा आकारमा चीलजस्तै ठूलो हुन्छ । राज कागको स्वर भने अन्यजस्तो तिखो हुन्न । कराउन त खोज्छ तर यसको आवाज घाँटीबाटै सुकेको जस्तो खर्रर, खर्रर आउँछ । राजा काग सामान्य कागजस्तो ठूलो हुलमा रहन्न । तीनदेखि ६ वटासम्मको समूहमा देखिन्छ । राजा काग एसिया, युरो र अमेरिका महादेशका देशहरुमा पाइन्छ । नेपालमा राजा कागको संख्या करिब एक हजार आसपास रहेको अनुमान गरिएको समाचारमा उल्लेख छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: