काठमाडौं : रोल्पाका शनि विश्वकर्माले नेपाल लोकस्टारको उपाधि चुमेका छन्। एपीवान टेलिभिजनबाट प्रसारित सर्वाधिक पुरस्कार राशिको रियालिटी सो नेपाल लोकस्टारको उपाधिसँगै उनले ५० लाख नगद पुरस्कार र सिटिजन्स लाइफ इन्सोरेन्सका तर्फबाट २५ लाख बराबरको जीवन बिमा हात पारेका छन्।
भृकुटीमण्डपस्थित खुला मैदानमा शुक्रबार आयोजित फाइनलमा उनले ‘अमिलो रसैले…’ बोलको गीत गाएका थिए। प्रतियोगितामा स्याङ्जाका चेतन गोतामे दोस्रो भई २५ लाख नगदसँगै १५ लाख बराबरको जीवन बिमा पनि प्राप्त गरे। उदयपुर कटारीका विनोद दनुवारले १० लाख नगदसँगै १० लाख बराबरको जीवन बिमा प्राप्त गरे। रामेछापका रामकुमार नेपालीले सान्त्वना स्थान हासिल गरे। नेपालीले लिटमस इलोक्ट्रोफाइन परफरमर अफ द सिजन अवार्डसहित दुई लाख नगद प्राप्त गरे।
असार १२ गते सुरु भएको लोकस्टार कार्यक्रम भृकुटीमण्डपबाट ३६औं शृंखला प्रत्यक्ष प्रसारण गर्दै सम्पन्न भएको छ। नेपाली लोकसंस्कृति प्रचारप्रचार र विकास गर्ने उद्देश्यले चाहना मिडिया प्रालिले कार्यक्रम आयोजना गरेको हो।
नेपाल लोकस्टार नेपाली लोकसंगीतको इतिहासमा धेरै पुरस्कार राशिको सांगीतिक कार्यक्रम हो। देशभरका विभिन्न ठाउँमा भएको अडिसनबाट लोकस्टारमा उत्कृष्ट छनोट भएका थिए। कार्यक्रममा विभिन्न जिल्लाका स्थानीय लोकसंगीतदेखि आधुनिक गीत र राष्ट्रिय गीतले स्थान पायो। उत्कृष्टमा छानिएकाले मधेसको भोजपुरी र सुदूरपश्चिमको देउडा गीत पनि गाए।
कार्यक्रमको ३६ औं शृंखलासम्म आउँदा सुनिता दुलाल, जयनन्द लामा, बीबी अनुरागी र रामजी खाँडले निर्णायकको भूमिका निर्वाह गरे। एपीवानका सुरेश पौडेलले प्रोजेक्ट हेड जिम्मेवारी पूरा गरे। एलन श्रेष्ठ र लोकेश बज्राचार्यले निर्देशकीय भूमिका निर्वाह गरेका थिए।
विजयी प्रतिस्पर्धीलाई अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, आईएमई गुप्रका अध्यक्ष चन्द्र ढकाल, अन्नपूर्ण मिडिया नेटवर्कका एमडी लक्ष्मी पौडेल, एपीवान टेलिभिजनका सुरेश पौडेल, चाहना मिडियाका प्रमुख भरतबहादुर बस्नेत, लिटमस केबलका उपाध्यक्ष सरोजकुमार मि श्रलगायतले पुरस्कार प्रदान गरेका थिए।
कार्यक्रममा सम्बोधन गर्दै नेटवर्कका अध्यक्ष थापाले देशका कुनाकाप्चामा लुकेर बसेका प्रतिभालाई लोकस्टारले भव्य मञ्च र स्थान दिएको बताए। उनले नेपाली लोकसंगीतले सबैलाई एकतामा जोड्ने विश्वास व्यक्त गरे।
यस्तै आईएमई ग्रुपका अध्यक्ष ढकालले लोकसंगीतले सबैको हृृदयलाई छुने बताए। समारोहमा लिटमस केबलका उपाध्यक्ष सरोजकुमार मिश्र, लोकस्टारका सीईओ सुरज गिरी, चाहना मिडियाका अध्यक्ष सहदेव कोइराला, हेमराज ढकाल, सरोजकुमार मिश्र, सहदेव कोइराला, सुदीप आचार्य, प्रदीप रोका, सञ्जय संघाई, रोहित गुप्ता, आदित्य संघाईलगायत सहभागी थिए।The