तेस्रो उत्साही कप फाइभ ए साइड फुटबल प्रतियोगिता सुरु

बेनी, ७ कात्तिक । जलजला गाउँपालिका–३ पर्वत बेनीमा बिहीबारदेखि तेस्रो उत्साही कप फाइभ ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।

नव उत्साही समूहको आयोजना र न्यु होराइजन आवासीय माविको सहआयोजनामा कात्तिक १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको प्रतिनिधिसभा सदस्य पदम गिरीले उद्घाटन गर्नुभयो ।


सांसद गिरीले खेलकुदको महत्व बुझाउन र खेल्ने काम बेरोजगारहरुको मात्र हो भन्ने भ्रम हटाउनुपर्ने बताउनुभयो । खेल क्षेत्रमा लगानी बढाउने र पूर्वाधार तयार पार्न सरकारको प्राथमिकता रहेको बताउनुभयो ।

जलजला गाउँपालिका स्तरीय खेलमैदान निर्माण गर्न संघीय सरकारबाट एक करोड र प्रदेश सरकारबाट पच्चिस लाख रुपैयाँ बिनियोजन भएको जानकारी दिनुभयो । सहमतिमा उपयुक्त स्थान छनौट गरि पालिका स्तरीय खेलमैदान बनाउन आग्रह गर्नुभयो ।

पर्वतका ग्रामिण सडक कालोपत्रेको काम अघि बढाइएको, निजी धारा सहितका खानेपानी र सिचाई सुबिधा विस्तारमा प्राथमिकता दिएको सांसद गिरीले बताउनुभयो । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) र वडा अध्यक्ष देविन्द्र भण्डारी रवीले खेल पूर्वाधारमा सघाउन सांसद गिरीको ध्यानाकर्षण गराउनुभयो ।

उहाँहरुले स्थानीय तहको सिमित स्रोत अपुग हुने भएकाले प्रदेश र संघीय सरकारसंगको सहकार्यमा खेल पूर्वाधार बनाउन चाहेको बताउनुभयो । कार्यक्रममा क्लवका पूर्व अध्यक्ष, खेलाडी र विषेश योगदान गरेका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

क्लवका अध्यक्ष सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव राजकुमार परियारले गर्नुभएको थियो । न्यु होराइजन आवासीय माविको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा ४० समूहको सहभागिता छ

एक वटा समूहबाट पाँच जनाका दरले खेलाडी सहभागि हुनेछन् । खेलमैदान सानो भएकाले फाइभ ए साइड फुटबल खेलाएको क्लवले जनाएको छ । प्रतियोगिताको बिजेता र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्र सहित ५६ हजार ६६६ र ३३ हजार ३३३ रुपैयाँ पुरस्कार प्रदान गरिने न्यु होराइजन आवासीय माविका प्रिन्सीपल अर्जुन पौडेलले बताउनुभयो ।

अनुशासित टिमलाई ट्रफि र प्रमाणपत्र सहित पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेण्डर र गोलरक्षकलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित दुई हजार २२२का दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन् । पर्वत बेनी र बगरफाँटका संघ संस्थाहरु सहयोगीको रुपमा रहेका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: