सर्वोदय माविलाई तीन लाखको पुरस्कार

बेनी, ७ कात्तिक । नेपालको सामुदायिक विद्यालयहरुको पूर्वाधार र शैक्षिक गतिबिधिमा सहयोग गर्दै आएको दक्षिण कोरीयाको एक संस्थाले अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीको सर्वोदय माविलाई तीन लाख रुपैयाँको पुरस्कार प्रदान गरेको छ ।

दक्षिण कोरीयाको “अम हङ्ग गिल फाउण्डेशन”ले काठमाडौमा भएको संस्थाको दशौ वार्षिकोत्सव कार्यक्रममा सर्वोदय माविलाई सो पुरस्कार प्रदान गरेको हो । संस्थाले नेपालका १७ जिल्लाका सामुदायिक विद्यालयको भवन निर्माण, कम्प्युटर ल्याब स्थापना र शैक्षिक सामग्री वितरणमा सघाउदै आएको छ ।

कार्यक्रम लागू भएका मध्य सबैभन्दा उत्कृष्ट भएकाले सर्वोदयलाई प्रोत्साहनका लागि पुरस्कृत गरेको संस्थाले जनाएको छ । विज्ञान, प्रबिधि तथा शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वुद्धी पुन, प्रअ किसान पुन लगायत विद्यालयका प्रतिनिधिहरुलाई नगद पुरस्कार र प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

सो संस्थाको डेढ करोड रुपैयाँ सहयोगमा सर्बोदय माविको ९ कोठे भवन निर्माण भएको छ । गत वर्ष कम्प्युटर ल्याब स्थापनाका लागि १९ थान ल्यापटप सहयोग गरेको थियो । कम्प्युटर ल्याबका साथै विद्युतीय पुस्तकालय स्थापना गरिएको छ । विद्यार्थीहरुलाई पोशाक, झोला, कापी र कलम लगायत शैक्षिक तथा खेलकुदका सामग्री पनि सहयोग गरेको छ ।

कक्षा १२ सम्मको पठनपाठन सञ्चालन हुने विद्यालयमा करिब तीन सय जना विद्यार्थी छन् । कक्षा १ देखि ८ सम्म कम्प्युटर विषयको पठनपाठन हुन्छ । पर्यटकीय स्थल तातोपानी कुण्ड स्नानका लागि तिरिने शूल्कबाट कक्षा ११ र १२ सञ्चालन भएको हो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: