मालिकाका लाभग्राहीलाई गाउँमै भत्ता वितरण

बेनी, ६ कात्तिक । मालिका गाउँपालिकाका लाभग्राहीरुलाई गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

गाउँपालिकासंग सामाजिक सुरक्षा भत्ता वितरणको सम्झौता गरेका गरिमा विकास र प्रभु बैंकले वडा कार्यालय र जनप्रतिनिधिसंग समन्वय गरेर गाउँमै पुगेर चालु आर्थिक वर्षको पहिलो चौमासिकको भत्ता वितरण गरेका हुन् ।

वडाबाटै भत्ता पाउँदा बिशेष गरेर जेष्ठ नागरिक, अशक्त र अपाङ्गहरुलाई राहत मिलेको छ । गाउँबाट दरवाङमा रहेको शाखा कार्यालयमा आउन जान लाग्ने खर्च र समयको बचत भएको छ । घण्टौ लाइन बस्नुपर्ने झञ्जट र सास्तिबाट मुक्ति पाएका छन् ।

गाउँपालिकाले सम्बन्धित लाभग्राहीको खातामा पठाएको रकम बैंकका कर्मचारीहरुले गाउँमै पुगेर वितरण गरेका हुन् । सुरक्षाका लागि इलाका प्रहरी कार्यालय दरवाङले प्रहरी खटाएको थियो । पारदर्शी बनाउन सरकारले बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने नीति लिएको छ ।

गरिमा बैंकले वडा न. १ निस्कोटका ६३ जनालाई आठ लाख ६४ हजार, ५ देविस्थानका २४७ जनालाई २९ लाख ९३ हजार, ६ दरवाङमा आठ लाख ९३ हजार र ७ बिमका १२९ जनालाई १२ लाख २९ हजार गरि कुल ५९ लाख ७० हजार रुपैयाँ वितरण गरेको शाखा प्रबन्धक नारायण शर्माले बताउनुभयो ।

मालिका गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका लाभग्राहीलाई भत्ता वितरण गर्न प्रभु बैंकको दरवाङ शाखा संग सम्झौता भएको छ । गत शुक्रबार ओखरबोटका ९८ जनालाई करिब १० लाख रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: