अन्नपूर्णको बिशेष गाउँसभा आठ कार्यबिधी अनुमोदन, एक बिधेयक र दुई नियमावली पारित

पोखरेबगर, ३ कात्तिक । अन्नपूर्ण गाउँपालिकाको आइतबार पोखरेबगरमा सम्पन्न बिशेष गाउँसभाबाट आठ वटा कार्यबिधिको अनुमोदन, एक वटा बिधेयक र दुई वटा नियमावली पारित गरेको छ ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा भएको गाउँसभामा कार्यपालिकाले तयार पारेका कार्यबिधि, बिधेयक र नियमावली छलफलपछि पारित भएको हो । बिधेयकको रुपमा अन्न्नपूर्ण गाउँपालिकाको सार्वजनिक निजि साझेदारी सम्बन्धी ऐन र नियमावली २०७६ तथा अन्नपूर्ण गाउँपालिकाको लेखा समिति गठन तथा संचालन नियमावली पारित भएको छ ।

स्थानीय पर्यटन विकास कार्यबिधि, कृषि अनुदान निर्देशिका, सुत्केरी स्याहार खर्च वितरण कार्यबिधि, विपन्न दलित तथा अल्पसंख्यक समुदाय स्वास्थ्य बिमा कार्यक्रम कार्यबिधि, खेलकुद संचालन तथा व्यवस्थापन कार्यबिधि, शिक्षक नियुक्ति तथा सरुवा कार्यबिधि र पशु सेवा कार्यक्रम सञ्चालन कार्यबिधि पारित भएको छ ।

गाउँपालिकाका सूचना अधिकारी कुलप्रसाद आचार्यले कार्यबिधि, नियमावली, निर्देशिका, ऐनमा टेकेर गाउँसभाले पारित गरेको बजेट, योजना, नीति तथा कार्यक्रम र निर्णय कार्यान्वयन गरिने बताउनुभयो । कार्यपालिकाको बैठकबाट पारित भएका कार्यबिधिलाई अनुमोदन गराउन गाउँसभामा प्रस्तुत गरिएको थियो ।

गाउँसभामा अध्यक्ष पुनले कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या देखिएको बताउनुभयो । ‘धेरै कर्मचारी समायोजन भएर गए, यहाँ आएका छैनन,’ अध्यक्ष पुनले भन्नुभयो ‘कर्मचारी नहुँदा जनतालाई सहज र सरल रुपमा छिटो छरिटो सेवा दिन समस्या भएको छ तै पनि प्रयास गरिरहेका छौ ।’
विकास निर्माण र बजेट कार्यान्वयनमा पनि जनशक्ति अभावको असर देखिएको उहाँको भनाई छ । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष केशमाया मगर, प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्मा र कार्यपालिका सदस्य बिष्णु दमाईले आफ्नो भनाई राख्नुभएको थियो ।
नेकपाको गाउँपालिका कमिटि अध्यक्ष खड्ग गिरी र नेपाली काँग्रेसका बेलबहादुर पुर्जाले विकास निर्माणलाई पारदर्शी, दिगो, प्रभावकारी र सेवा प्रवाहलाई जनमुखी बनाउन सुझाव दिनुभएको थियो ।

कार्यपालिकाका प्रवत्ता कृष्णप्रसाद बरुवालको सञ्चालन र सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । गाउसभाका सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृतको छिटो छिटो फेरबदल हुनु र लेखापालन नहुनु मुख्य समस्या भएको बताएका थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: