रुप्से झरना पर्यटनको केन्द्र

बेनी, १ कात्तिक । दायाँ र बायाँ अग्ला पहाड । वरिपरि हरियाली । छेवैँमा छ कालिगण्डकी । सँगसँगै रहेको छ अग्लो पहाडबाट छङछङ झरेको झरना । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा रहेको रुप्से झरनास्थल पुग्दा जो कोहीको मन फुरुङ्ग हुन्छ । व्यस्त दैनिकी छलेर त्यहाँ पुग्नेले तनाव बिर्सन्छन् । प्रकृतिमा नजर अडाउँछन् र मन शान्त पार्छन् ।

केही वर्ष अघिसम्म ओझेलमा रहेको रुप्से झरनाले अहिले मुहार फेरेको छ । गाउँलेले प्रकृतिको देन भनेर पुकार्ने रमणीय आकर्षक झरना पर्यटकीय गन्तव्य बनेको छ । पूर्वाधार र प्रचारप्रसारले झरना आगन्तुकको रोजाइमा परेको हो । बेनी–जोमसोम सडक भएर यात्रा गर्ने स्वदेशी पर्यटकहरुका लागि रुप्से झरना आकर्षणको केन्द्र बनेको छ । दैनिक हजारौ जना पर्यटक रुप्से झरनाको सुन्दरतामा रमाउँछन् ।

रुप्से झरनाको अवलोकन गर्ने, प्राकृतिक सौन्दर्यमा रमाउने र तस्विर खिच्नेहरुको भिड लाग्ने गरेको स्थानीयबासी श्याम पुनले बताउनुभयो । रुप्से झरना अवलोकन गर्ने स्वदेशी तथा बिदेशी पर्यटकहरुका कारण रुप्से–काभ्रे खण्डमा सडक जाम हुन थालेको छ ।

‘मुस्ताङ जाने–आउने ९० प्रतिशत पर्यटकले रुप्से झरनाको अवलोकन गर्छन’, पुनले भन्नुभयो ‘बेनी–जोमसोम सडकको छेउमै रहेको रुप्से झरनामा बिहान देखि साँझसम्म पर्यटकको घुइँचो लाग्छ ।’

करिब तीन सय मिटर माथिको पहाडबाट छाँगा बनेर तीन तहमा रहेको रुप्से झरना मनमोहक र आकर्षक देखिन्छ । छङछङ गर्दै झर्ने झरनाको सुन्दरताले मोहीत बनाएको काठमाडौको प्रतिमा दाहालले बताइन् । ईन्द्रेणी पर्दा झरनाको दृष्य अझै मनमोहक हुन्छ ।

रुप्से झरनाको नजिकै संसारकै गहिरो अन्धगल्छी पनि छ । प्रचारप्रसारको कमीले अन्धगल्छीमा भने कमै मात्र पर्यटक पुग्ने गरेका छन् । अन्धगल्छी र रुप्से झरनालाई व्यवस्थित गरी पर्यटकीय गन्तब्यको विकास गर्ने उद्देश्यले गुरुयोजना तयार पारिएको छ । वडाको प्रस्तावमा गाउँपालिकाको एक लाख पचास हजार रुपैया सहयोगमा पर्यटकीय पूर्वाधार निर्माणका लागि गुरुयोजना तयार पारिएको हो ।

गुरुयोजना अनुसार रुप्से र अन्धगल्छीलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माणका लागि दुई करोड ६५ लाख रुपैया बजेट आवश्यक पर्ने वडा अध्यक्ष नरसिङ पुर्जाले बताउनुभयो । ‘रुप्से र अन्धगल्छीको बिचमा रहेको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतीको काम सकिएलगत्तै गुरुयोजना कार्यान्वयन सुरु गर्छौ’, वडा अध्यक्ष पुर्जाले भन्नुभयो ।

वन डिभिजन कार्यालयको सहयोगमा भुमेथान नजिकैको डाडोमा भ्यु टावर बनाइएको निर्माण समितिका अध्यक्ष रमेश पुर्जाले बताउनुभयो । यसअघि साविक जिल्ला विकास समिति, गाविसको पहलमा पदमार्ग र भ्यूटावर निर्माण गरिएको थियो ।

गुरुयोजनामा अहिले निर्माण भएका पदमार्गको स्तरोन्नति र विस्तार, भ्यूटावर थप, अन्धगल्छी अवलोकनका लागि पुल, रुप्से झरनाको हरेक खण्डमा विरुवा रोपण र प्रत्येक खण्डलाई तालको स्वरुप दिन प्रस्ताव गरिएको छ ।

अन्धगल्छी र झरनाको बीचमा वनभोजस्थल, व्यवस्थित पार्किङस्थल, रुप्से झरनाको माथिल्लो भ्यूटावरमा पुग्न सडक विस्तार र दुबैतर्फ स्वागतद्धार निर्माणको प्रस्ताब गरिएको छ ।

झरनाको प्रत्येक खण्डलाई ताल बनाउने, अन्धगल्छी अवलोकनका लागि पुल, वनभोजस्थल र व्यवस्थित पार्किङस्थल निर्माण गर्ने गुरुयोजनामा उल्लेख छ । गाउँपालिकाले गत वर्ष रुप्से र अन्धगल्छीको बीच भागमा पाँच लाख रुपैयाको लगानीमा सार्वजनिक शौचालय निर्माण गरेको अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

रुप्सेमा पार्कीङ स्थलको समस्या छ । झरना र अन्धगल्छी अवलोकन गर्ने पर्यटक चढेका गाडी सडकमै रोकीदा सवारी आवागमन प्रभावित भएको यातायात ब्यवसायीहरुले गुनासो गरेका छन् । यसैबीच रुप्से झरना र अन्धगल्छीको बिचमा पर्यटकको सूबिधाका लागि बेनीका युवा ब्यवसायी सुवर्ण केसीले रेष्टुरेन्ट सञ्चालन गर्नुभएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: