जयन्ती माविलाई बीस लाख सहयोग


बेनी, ३० असोज । बेनी नगरपालिका–३ भकिम्लीमा जयन्ति माविको भवन निर्माणका लागि प्रवासीबाट बीस लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ ।

निर्माणधिन अवस्थामा रहेको पक्की भवनलाई पूर्णता दिन अमेरिकामा रहेका भकिम्लीवासीहरुले पठाएको बीस लाख ५६ हजार ६४६ रुपैयाँ बुधबार हस्तान्तरण गरिएको छ ।

जीर्ण अवस्थामा रहेको भवन विस्थापित गरी समुदायको नेतृत्वमा स्वदेश तथा विदेशमा रहेका भकिम्लीबासी, विभिन्न सरकारी निकायको सहयोगमा २४ कोठे पक्की भवन निर्माणको अन्तिम चरणमा पुगेको छ ।

अमेरिकामा रहेका भकिम्ली मुसुङका याम पुनको संयोजनमा संकलन गरिएको १० लाख २१ हजार ६४६ रुपैयाँ पूर्व विब्यस अध्यक्ष एवम् संयोजनकर्ता याम पुनका बुबा पृथीप्रसाद पुनले ब्यवस्थापन समितिका अध्यक्ष पदम पुनलाई हस्तान्तरण गर्नुभयो ।

यस भन्दा पहिले पनि अमेरिकाबाट पुनकै संयोजनमा १० लाख ३५ हजार सहयोग संकलन गरि विद्यालयलाई हस्तान्तरण गरिएको थियो । सहयोग हस्तान्तरण गदैं पुनले विद्यालयको भौतिक पूर्वाधारसंगै शैक्षिक अभियानलाई केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

ब्यवस्थापन समितिका अध्यक्ष एवम् बेनपा–३ का वडा अध्यक्ष पदम पुनले भवन निर्माणलगत्तै सम्पूर्ण ध्यान शैक्षिक गतिविधिमा केन्द्रित गर्ने बताउनुभयो । उहाँले अनुमान भन्दा धेरै खर्च भएकाले प्रवासमा रहेका भकिम्लीबासीले निरन्तर सहयोग जुटाइरहनुपरेको बताउनुभयो ।

सोही अवसरमा चन्दादाता गोकर्ण श्रीष, नरमायाँ श्रीष, नमिता श्रीष, कलिमायाँ छन्त्याललाई सम्मान गरिएको थियो । विद्यालयको भवन, प्रवेशद्धार, खेलमैदानको प्याराफिट निर्माण लगायतको संरचनामा ३ करोड ३६ लाख खर्च भएको छ ।

सहयोगदातालाई भब्य सम्मानसहित सहयोग विवरणलाई शिलालेखमा राखिने विद्यालयका प्रधानाध्यापक रामबहादुर पुनले बताउनुभयो ।

तस्बिर- धु्रबसागर शर्माको फेसबुकबाट

Leave a Reply

Scroll to Top
%d bloggers like this: