भुरुङ्ग तातोपानीमा नुहाउनेको घुइचो


बेनी, १ कात्तिक ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ्ग तातोपानी कुण्डमा स्नान गर्नेहरुको घुइचो लागेको छ ।

बेनी–जोमसोम सडक अन्तरगत कालीगण्डकी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५५ डिग्री सेल्सीयस तातोपानी संकलन गरिएको तलाउ र धारामा स्नान गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको हो ।

चिसो बढेको, पर्यटकीय याम र मुस्ताङ जाने आउने पर्यटकको चापसंगै तातोपानी कुण्डमा स्नान गर्न आउनेहरुको पनि संख्यामा वृद्धी भएको कुण्डका ब्यवस्थापक बाबुराम गर्बुजाले बताउनुभयो ।

उहाँका अनुसार हाल दैनिक पाँच सय जना भन्दा बढीले तातोपानीको धारा र कुण्डमा स्नान गर्न आएका छन् । प्राकृतिक तातोपानीमा स्नान गर्दा थकान मेटिने र शारीरिक स्फुर्ती बढ्ने पर्यटकहरुले बताएका छन् ।

उपल्लो मुस्ताङको चार दिनको भ्रमण गरेर फर्कने क्रममा तातोपानी कुण्डमा स्नान गरेका काठमाडौका प्रदिप शाक्यले थकान मेटिएको अनुभव सुनाउनुभयो । दुई वटा पोखरी बनाइएको छ । धारा र पोखरी जहाँ उपयुक्त हुन्छ त्यही स्नान गर्न सकिन्छ ।

बिहान छ देखि साँझ आठ बजेसम्म स्नान गर्न सकिन्छ । कुण्डमा स्नानका लागि स्वदेशीलाई पचास र बिदेशीलाई १५० रुपैया प्रवेशशूल्क तोकिएको छ । कुण्डमा प्रवेश शूल्क र होटल सञ्चालन गर्न गाउँपालिकाले यस वर्ष ५८ लाख रुपैयाँमा ठेक्कामा लगाएको छ ।


गत वर्ष ५३ लाख रुपैयाँ आम्दानी भएको थियो । कुण्डबाट हुने आम्दानी तातोपानी स्थित सर्वोदय मावि, हिमालय आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकको तलब, स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन, कुण्डको पूर्वाधार निर्माण र संरक्षणमा परिचालन गरिएको वडा अध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो ।

कुण्डको सहयोगमा कक्षा ११ र १२ सञ्चालन गरिएको सर्वोदय मावि व्यवस्थापन समितिका अध्यक्ष वुद्धी पुनले बताउनुभयो । हिमालय आधारभूत विद्यालयलाई पनि सहयोग गरिएको छ । कुण्डको सहयोगमा तातोपानी स्वास्थ्य चौकीमा एक जना प्राबिधिकको तलब व्यवस्थापन गरि प्रयोगशाला सञ्चालन भएको छ ।

कुण्डबाट गत वर्ष विद्यालय र स्वास्थ्य चौकीलाई तीस लाख रुपैयाँ सहयोग भएको थियो । कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि पनि संरक्षणको काम गरिदै आएको छ । पर्यटकको आवास सुबिधाका लागि तातोपानी बजारमा दश भन्दा धेरै सुबिधा सम्पन्न होटल सञ्चालनमा छन् ।
एक दिनमा तीन सय भन्दा बढी बास बस्न सक्ने क्षमता छ । पुराना होटलले क्षमता र सुबिधा विस्तार तथा नयाँ होटल थपिने क्रम बढेको हिमालयन होटलका सञ्चालक आत्मा तुलाचनले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: