मिर्गौलाको तस्करी निदान अस्पताल ३ लाखमा किनबेच

मदन ढुङ्गाना

काठमाडौं– भारतमा लगेर नेपालीहरुको मिर्गौलाको तस्करी भएको समाचार त पटकपटक बाहिर आइसकेको छ । नेपालको काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, नुवाकोट, म्याग्दी लगायतका जिल्लाबाट गरिब मानिस खोजेर  मिर्गौलाको किनबेच भएका उदाहरण धेरै छन् । त्यस्ता व्यक्तिहरुको मिर्गौला धेरैजसो नेपाली नागरिक र केही भारतीय तथा तेस्रो मुलुकका व्यक्तिका शरीरमा पनि प्रत्यारोपण गरिएका छन् । तर अब मिर्गौलाको तस्करी हुनका लागि भारतमै पुग्नु नपर्ने एउटा घटनाले देखाएको छ ।

साउन २३ गते ललितपुरको निदान अस्पतालमा नक्कली नाता प्रमाणित गराई मिर्गौलाको किनबेच भएको पुष्टी भएको छ ।  बुधबार मानव बेचविखन नियन्त्रण ब्यूरोले पत्रकार सम्मेलनको आयोजना गर्दै निदान अस्पतालमा नक्कली नाता प्रमाणित गराई नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपण भएको जानकारी दिएको छ । 

दोरम्बा ३ घर भई स्वयम्भु बस्ने ५६ वर्षीय शंकरलाल लामाको शरीरमा मिर्गौला प्रत्यारोपण गर्दा काभ्रेका एक गरीब व्यक्तिलाई नक्कली भाञ्जा बनाई ३ लाख रुपैयाँ लिएर उनको मिर्गौला झिकिएको पाइएको छ ।

यस्तो छ मिर्गौला तस्करीको फेहरिस्त

रामेछाप जिल्ला साविकको दोरम्बा गाविस वडा नम्बर ३ घर भएका शंकरलाल लामाको दुवै मिर्गौला फेल भयो । नेपाली काँग्रेसबाट गाविस अध्यक्षसमेत बनिसकेका लामाको आर्थिक हैसियत पनि राम्रो नै थियो । उनका छोराहरु अष्ट्रेलिया लगायतका देशमा छन् र उनीहरुको आम्दानी पनि राम्रो नै छ ।

बुवाको दुबै मिर्गौला फेल भएको थाहा पाएपछि छोराहरु मिलेर बुवाको मिर्गौला प्रत्यारोपणको तयारी थाले । तर मिर्गौला प्रत्यारोपणका लागि उनीहरुले आफ्नै मिर्गौला वा परिवारको सदस्यको मिर्गौला दिन चाहेनन् । बरु गरीब मानिस खोजेर केही रकम दिने र मिर्गौला किन्ने योजना बनाए ।

योजना बमोजिम ब्लड ग्रुप मिल्ने काभ्रेका (बबरमहल २ संकेत भएका) ३७ वर्षीय व्यक्तिलाई दलालमार्फत् उनीहरुले भेटे । दलालमार्फत् राम्रै रकम दिने लोभ देखाएर पीडितलाई मिर्गौला बेच्न उनीहरुले कन्भिन्स गराए ।  त्यसपछि गएको वैशाख महिनादेखि पीडित बबरमहल २ लाई लामाको परिवारले भक्तपुरमा कोठा भाडामा लिएर राख्यो ।

ब्लड ग्रुप लगायतका सबै कुरा मिलेपछि उनीहरुले नक्कली कागजात बनाउन थाले ।  मिर्गौला लिने व्यक्ति शंकरलाल लामा र मिर्गौला दिने व्यक्ति सञ्जिव घिसिङ तयार पारियो । मिर्गौला दिने भनिएको व्यक्ति सञ्जिव घिसिङ नाताले शंकरलालको भाञ्जा थिए । त्यही अनुसारको नाता प्रमाणित रामेछापबाट बनाएर फोटोसमेत टाँस गरी कागजात काठमाडौं ल्याइयो ।

अस्पतालमा कागजात पेश गर्दा मिर्गौला लिने व्यक्ति शंकरलाल लामा र दिने व्यक्ति सञ्जिव घिसिङ नै भनियो । नातामा मामा र भाञ्जा रहेको मिर्गौला प्रत्यारोपणका बाँकी कागजात सबै सक्कल नै तयार भयो ।
अस्पतालमा गएर स्वास्थ्य परीक्षण पनि गरियो र मिर्गौला दिने व्यक्तिले मञ्जुरीनामा पनि दिए ।

मिति : २०७६ साउन २२ गते 

मञ्जुरीनामा दिएको दिनमा गाउँपालिकाले दिएको नाता प्रमाणित भन्दा फरक तस्वीर राखेर सञ्जिव घिसिङको नाममा मिर्गौला दिन लागेको मञ्जुरीनामा तयार भयो ।  गाउँपालिकाले दिएको नाता प्रमाणित तथा मञ्जुरीनामामा पेश गरिएको फोटो र मिर्गौला दिन तयार भएर स्वास्थ्य परीक्षणका लागि आएको व्यक्तिको फोटो फरक फरक व्यक्ति जस्तो देखिएपछि अपरेशन थिएटरमा काम गर्ने एक नर्सले त्यसबारे कुरा उठाइन् ।
भोली (साउन २३ गते) हुन लागेको मिर्गौला प्रत्यारोपणका सम्बन्धमा बसेको मिटिङमा व्यक्ति फरक रहेको जस्तो देखेपछि ती नर्सले यसबारेमा कुरा उठाएकी थिइन् ।  कुरा उठेपछि त्यही दिन राती निदान अस्पतालमा व्यवस्थापन र डाक्टरको मिटिङ बस्यो । यद्यपि शंका लागेपछि प्रहरीलाई खबर गर्नुपर्नेमा अस्पताल प्रशासनकै मिलेमतोमा रातारात फोटो चेञ्ज गरियो । बरु व्यक्ति एउटै भएको तर फोटो नयाँ र पुरानो रहेको भन्दै मञ्जुरीनामामा पनि नयाँ फोटो टाँस्ने नाटक रचियो ।

योजना बमोजिम सञ्जिव घिसिङ शरीरमा बबरमहल २ (पीडित) व्यक्तिको अनुहार राखेर फोटोशप गरियो । नयाँ मिर्गौला दिने व्यक्तिको नाम सञ्जिव घिसिङ नै भयो भने फोटोचाहिँ काभ्रेका युवाको राखियो । र, त्यसको भोलिपल्टै सिनियर किड्नी ट्रान्सप्लाण्ट सर्जन पुकारचन्द्र श्रेष्ठको टोलीले बबरमहल २ को मिर्गौला नक्कली मामा शंकरलाल लामाको शरीरमा प्रत्यारोपण गरियो ।

साउन २३ गते बबरमहल २ को मिर्गौला शंकरलालको शरीरमा प्रत्यारोपण गरेपछि केही समय त्यही अस्पतालमै उपचार भयो । अनि उनीहरु दुबैजना आ–आफ्नै घर गए ।  मिर्गौला प्रत्यारोपण भएको करिब एक महिनापछि नेपालमै मिर्गौलाको किनबेच र प्रत्यारोपण भएको कुरा बाहिर आउन थाल्यो ।

पीडित युवा बबरमहल २ को परिवारले यसबारेमा जानकारी पाएपछि त्यो कुरा पहिले मिडियालाई जानकारी दिए । सो बारेको समाचार सार्वजनिक भएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरोका डिएसपी राजकुमार सिलवाल नेतृत्वको टोलीले घटनाबारे अनुसन्धान सुरु गरेको थियो ।

भदौ १९ गते उनीहरु निदान अस्पताल पुगेर यस घटनासँग सम्बन्धित कागजात नियन्त्रणमा लिए र अनुसन्धान सुरु गरे । त्यसपछि मिर्गौला प्रत्यारोपणका सन्दर्भमा केही गडबडी भएको पत्ता लाग्यो ।  प्रत्यारोपणका क्रममा नक्कली व्यक्ति खडा भएको शंका लागेपनि पुष्टी हुन भने सकने । किनभने कागजीरुपमा मिर्गौला दिएका भनिएका व्यक्ति सञ्जिव घिसिङ ‘फरार’ थिए ।

अनि मिर्गौला दिएका व्यक्तिगत मानिस पनि कहाँ छन् र को हुन् थाहा थिएन । तर ब्यूरोको टोलीले अनुसन्धानलाई जारी नै राख्यो । र, अन्ततः असोजको तेस्रो साता मिर्गौला दिएका पीडित व्यक्तिलाई भक्तपुरको एक अँध्यारो कोठाबाट ‘उद्धार’ गर्न ब्यूरोको टोली सफल भयो ।

बन्धक बनाइएका थिए पीडित बबरमहल २
मिर्गौला दिएपछि केही समय अस्पतालमा उपचार गराई डिस्चार्ज गरिएका बबरमहल २ त्यसपछि खासै बाहिर देखिएनन् । अझ मिर्गौलाको तस्करी भएको समाचार बाहिर आएपछि त उनलाई मिर्गौला लिने शंकरलाल लामा तथा दलालको समूहले बाहिर ननिस्कन र निस्किए प्रहरीले पक्राउ गरी जेल हाल्ने धम्की दिन थाले ।

यो कुरा बाहिर ल्याए ज्यानै जानेसम्मको धम्कीसमेत सो समूहले दियो । त्यसपछि उनी भक्तपुरको एक घरको अँध्यारो र चिसो कोठामा बन्धकजस्तै बने । कहिलेकाहीँ बाहिर निस्किएर भट्टीमा गई थोरै रक्सी खानेबाहेक अरु केही गर्न थालेनन् । ब्यूरोको टोलीले एक महिनाभन्दा लामो अनुसन्धान गरेपछि उनी बसेको स्थान पत्ता लगायो र उनलाई उद्धार गर्यो । उद्धार गर्दा उनी चिसो र अँध्यारो कोठामै थिए ।

मिर्गौला बेचेवापत ३ लाख पाएका थिए पीडितले

काभ्रेको गरीब परिवारका बबरमहल २ ले मिर्गौला बेचेवापत ३ लाख पाएको भेटिएको छ । दलालको प्रलोभनमा परी पीडितले मिर्गौला बेच्न तयार भएको प्रहरीसमक्ष बयान दिएका छन् । प्रहरीसँगको बयानको क्रममा पीडितले दलालले फकाएको र मिर्गौला दिँदा केही फरक नपर्ने भन्दै आफूलाई प्रलोभन दिएको बताएका छन् ।

यद्यपि मिर्गौला लिने समूहले मिर्गौला दिएवापत कति रकम दिने भनेर प्रतिवद्धता जनाएका थिए भन्नेबारे केही खुलेको छैन । यद्यपि मिर्गौला दिएबापत राम्रै रकम दिने प्रतिवद्धता जनाएको पाइएको छ ।

पीडितले हालसम्म कति रकम लिए भनेर केही खुलाएका छैनन् । यद्यपि पीडित बबरमहल २ तथा मिर्गौला लिने व्यक्तिको परिवारको बैंक खाता अध्ययन गर्दा पीडितले हालसम्म ३ लाख रुपैयाँ पाइसकेको भेटिएको छ ।
छोरा, भाञ्जा र दलाल फरार
निदान अस्पतालमा मिर्गौलाको तस्करी भएको जानकारी प्रहरीले पाएपछि मिर्गौला लिने व्यक्ति शंकरलाल लामाको दुई छोरा, मिर्गौला दिने भनिएका भाञ्जा र दलाल भने फरार रहेको प्रहरीले बताएको छ । उनीहरु प्रहरीको खोजी सूचीमा रहेको भन्दै चाँडै नै उनीहरुलाई पक्राउ गरिने बताइएको छ । मिर्गौला बेच्ने मानिस खोजिदिने दलालको बारेमा जानकारी आइसकेको भन्दै अब उनीहरुलाई पक्राउ गर्ने प्रहरीले जनाएको छ ।

निदान अस्पतालको सिइओसहित ५ जना पक्राउ

मिर्गौला तस्करीको घटनामा संलग्न रहेको हुनसक्ने भन्दै मानव बेचबिखन अनुसन्धान ब्यूरोले निदान अस्पतालका सिइओ विपेन्द्र प्रधानसहित ५ जनालाई बुधबार पक्राउ गरेको छ । नक्कली व्यक्ति हो भन्ने थाहा पाउँदा पाउँदै पनि स्वीकृति दिने अस्पतालमा पूर्व अध्यक्षसमेत रहेका सिइओ बिपेन्द्र प्रधान, निदान अस्पतालकै कानुन अधिकृत कुमुद कुमार भट्टराई निदान अस्पतालका डाक्टर राजेश पन्त र जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रशासकीय अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

प्रत्यारोपण गर्ने डाक्टर पक्राउ परेनन्

प्रहरीले नक्कली व्यक्ति हो भन्ने थाहा पाउँदा पाउँदै पनि स्वीकृति दिने व्यक्तिहरुलाई पक्राउ गरेपनि मिर्गौला प्रत्यारोपण गर्ने डाक्टरलाई भने पक्राउ गरेको छैन । यो घटनामा मिर्गौला प्रत्यारोपण गर्ने डाक्टर थिए वरिष्ठ चिकित्सक पुकारचन्द्र श्रेष्ठ ।

उनी मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशकसमेत हुन् । तर प्रहरीले उनलाई भने पक्राउ गरेको छैन । यदि घटनामा उनको संलग्नता पुष्टी भए उनलाई पनि पक्राउ गरिने प्रहरीले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: