महराले दिए सभामुख पदबाट राजीनामा

काठमाडौं : प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका छन् । मंगलबार उपसभामुख समक्ष राजीनामा दिएका हुन् । आफ्नो चरित्रमा प्रश्न उठाई लगाइएका आरोपबारे सत्यतथ्य छानबिन गर्न सहयोग पुगोस भनी राजीनामा दिएको महराले राजीनामा पत्रमा भनेका छन् ।

संसदकै एक महिला कर्मचारीले यौनदुर्व्यवहारको आरोप लगाएपछि मंगलबार बिहान बसेको नेकपाको सचिवालय बैठकले महरालाई सांसद र सभामुख दुवै पदबाट राजीनामा दिन आग्रह गरेको थियो ।

महरामाथि उनकै सचिवालयकी एक कर्मचारीले आइतबार बलात्कारको प्रयास गरेको आरोप लगाएकी थिइन्। तर सभामुख महराले भने आरोप अस्वीकार गरेका छन्। कर्मचारी समायोजनका क्रममा अन्यत्र सरुवा भएकी महिलाले भनेअनुसार आफूले नगरिदिएपछि निराधार आरोप लगाएको महराको दाबी छ।

प्रधानमन्‍त्री केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान महरालाई बालुवाटार बोलाएर उनीमाथि लागेको आरोपबारे जानकारी लिएका थिए। सार्वजनिक रुपमा यस्तो आरोप लागेपछि छानबिनमा सहयोग गर्नका लागि सांसद र सभामुख दुवै पदबाट राजीनामा दिन उपयुक्त हुने सल्लाह दुवै अध्यक्षले दिएको स्रोतले बतायो। दुवै अध्यक्षको यस्तो सल्लाहपछि महराले म सोचेर निर्णय लिन्छु भन्दै बालुवाटारबाट बाहिरिएका थिए। महराले यसबीचका केही कानुनविद्सँग समेत परामर्श गरेका थिए।

Leave a Reply

Scroll to Top
%d bloggers like this: