विश्वकै अग्लो भवन बुर्ज खलिफामा पहिलोपटक फहरायो नेपालको राष्ट्रिय झण्डा

४ असोज, अबुधाबी । युएईमा अवस्थित विश्वकै अग्लो भवन बुर्ज खलिफामा नेपाली राष्ट्रिय झण्डा फहराएको छ । संविधान दिवसको अवसरमा शुक्रबार साँझ स्थानीय समयअनुसार ९ः१० मा बुर्ज खलिफामा नेपाली झण्डा फहराइएको हो ।

विभिन्न देशको राष्ट्रिय दिवस तथा स्वतन्त्रता दिवसको दिन संसारको अग्लो भवन बुर्ज खलिफामा सम्बन्धित देशको झण्डा फहराउने चलन छ ।

बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा फहराएको पहिलो पटक हो । यो ऐतिहासिक दृष्य अवलोकन गर्न बुर्ज खलिफा भवन वरिपरि शुक्रबार धेरै नेपालीहरुको भिड लागेको थियो । बुर्ज खलिफामा नेपालको झन्डाको प्रतिविम्ब देखिँदा सयौंको संख्यामा उपस्थित नेपालीहरुले ‘नेपाल’ भन्दै ताली बजाएर खुसियाली मनाए ।

शुक्रबार यहाँ सार्वजनिक विदा पनि भएकाले धेरै नेपालीहरु बुर्ज खलिफामा गएर आफ्नो देशको झण्डा पहराएको दृष्य प्रत्यक्ष अवलोकन गरे । उनीहरुले नेपालीको समेत श्रमले बनेको उक्त भवनमा नेपालको झण्डा फहरिनु गौरवको कुरा भएको भन्दै नेपाली दूतावास र यहाँको सरकारप्रति आभार प्रकट गरेका छन् ।

झापा घर भई हाल युएईमा कार्यरत डिजी गौतमले भने, ‘यो देश बनाउन नेपालीको पनि ठूलो योगदान छ । सायद त्यसैको गुन आज युएईले थोरै भए पनि चुक्ता गरेको छ । अब हामीले पनि सगरमाथाको शिरमा युएईको झण्डा फहराएर गुन तिर्नुपर्छ ।’

बुर्ज खलिफामा नेपालीसँगै अन्य देशका नागरिकले समेत उक्त दृश्यको अवलोकन गरेका थिए ।

यस्तै युएईको राजधानी अबुधावीमा रहेको एडनक हेडक्वाटर भवनमा पनि नेपालको झन्डा प्रदर्शन गरिएको छ ।

 उत्साहले भावुक बनाएको छ : राजदूत ढकाल

आफूले जिम्मेवारी लिएदेखि राजदूत कृष्णप्रसाद ढकालले यहाँको सरकारसँग बुर्ज खलिफामा नेपालको झण्डा फहराउन आग्रह गरेका थिए ।

अनलाइनखबरसँग कुरा गर्दै राजदूत ढकालले भने, ‘संसारकै सबैभन्दा अग्लो भवनमा इतिहासमै पहिलोपल्ट नेपालको राष्ट्रिय झन्डा झलमलाउँदा गर्वले छाती चौडा र शिर ठाडो भयो ।’

नेपालको अनुरोधलाई स्वीकार गरी अभूतपूर्व कार्यमा सहयोग गरेको भन्दै उनले युएई सरकारलाई धन्यवाद ज्ञापन गरे । राजदूत ढकालले थपे, ‘प्रत्यक्ष अवलोकन गर्न बुर्ज खलिफा परिसरमा भेला भएका हजारौं नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उत्साहले भावुक बनाएको छ ।’

अघिल्लो वर्षको संविधान दिवस तथा राष्ट्रिय दिवसमा उक्त स्थानमा झण्डा फहराउन दूतावासले प्रयास गरेको थियो । तर, स्थानीय निकाय र यहाँको सरकारसँगको समन्वयका लागि प्रर्याप्त समय नभएपछि त्यो वर्ष पूरा हुन सकेन ।

संविधान तथा राष्ट्रिय दिवसको अवसरमा शुक्रबार दूतावास कार्यालयमा यहाँ रहेका विभिन्न राजनीतिक दल संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा दिवस मनाइएको छ ।

दूतावासले आउँदो आइतबार बोब अल क्युसार होटेलको सभा हलमा १ सय २० भन्दा धेरै देशका प्रतिनिधिको उपस्थितिमा कार्यक्रम गर्ने दूतावासकी सूचना अधिकारी बिष्णुकुमारी अधिकारीले जानकारी दिइन् । शुक्रबार यहाँको स्थानीय विदा भएकाले आइतबार कार्यक्रम आयोजना गरिएको अधिकारीले बताइन् ।

अनलाइनखबर

Leave a Reply

Scroll to Top
%d bloggers like this: