आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

३ असोज, काठमाडौं । संविधानसभाबाट संविधान जारी भएको ४ वर्ष पूरा भएको छ ।  संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ ।

दिवसका अवसरमा शुक्रबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ ।

समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने मूल समारोह समितिले जनाएको छ ।

त्यस्तै, सरकारी तथा निजी क्षेत्रहरूले पनि विभिन्न कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाउने तयारी गरेका छन् ।

४ वर्षअघि ०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो । यद्यपि, जारी संविधान सर्वस्वीकार्य हुन सकेको छैन । सुरुदेखि नै संविधान विभेदकारी भएको मधेसवादी, आदिवासी जनजातिलगायत रुष्ट छन् ।  यसका कतिपय प्रावधान विभेदकारी भएको भन्दै उनीहरूले संशोधन गर्न माग गरिरहेका छन् ।

सरकारले भव्य ढंगले संविधान दिवस मनाउने तयारी गरिरहँदा असन्तुष्ट समूह भने यसको विरोधमा देखिएका छन् । मधेसी दल तथा केही संगठनहरूले यसलाई कालो दिनका रूपमा मनाउने घोषणा गरेका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: