संविधानका चार वर्ष : संशोधन मुद्दा ज्यूँका त्यूँ

काठमाडौं : संविधानसभाबाट संविधान जारी भएको चार वर्ष भयो। मधेसकेन्द्रित दलको असन्तुष्टि कायमै छ। जनजातिलगायत पहिचान पक्षधर पनि असन्तुष्टै छन्। संविधान संशोधनको आसले निर्वाचनमा भाग लिएका मधेसकेन्द्रित दल यही मुद्दा लिएर हिँडिरहेका छन्।

उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी संविधान संशोधन गर्ने सर्तमा सरकारमा सहभागी भएको थियो। राजपाले यही मुद्दालाई अघि सार्दै सरकारलाई समर्थन गरेको थियो। माग पूरा नहुने देखेपछि राजपाले समर्थन फिर्ता लिएको थियो। तर, सरकार गठनको एक वर्ष सात महिना बित्दा पनि यी दुई दलको माग पूरा भएको छैन। केपी ओली नेतृत्वको सरकार संविधान संशोधन गर्न उदासीन देखिएको छ।

‘कुन धारा किन संशोधन गर्नुपर्ने ? कसको सम्मान पुगेन ? कसका अधिकार पुगेनन् ? ’, बिहीबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भने, ‘कहीं न कहीं पुष्टि हुनुपर्छ। यत्तिकै संविधान संशोधन हुँदैन।’

जनताको प्रगति, देशको अग्रगति, लोकतान्त्रिक प्रणाली, न्यायपूर्ण समाज, विकास निर्माण, राष्ट्रि स्वाधीनता र स्वाभिवानमा बाधा पुगे मात्र संशोधन हुने उनले बताए। कसैको रहरमा संशोधन हुन नसक्ने उनको तर्क थियो। ‘संविधान संशोधन गर्न औचित्य पुष्टि हुनुपर्छ’, उनले भने, ‘संविधान त लेखियो, संशोधन कुन ठूलो कुरा हो र ? तर, कसले कति बेला सपना देख्छ त्यति खेरै संशोधन हुँदैन।’

उनले उपप्रधानमन्त्री यादव नेतृत्वको पार्टीले सरकार नछाड्ने दाबी गरे। ‘सरकारमा बस्न औचित्य हुन्छ÷हुँदैन हामीले जान्ने कुरा हैन। कतिलाई सरकारमा आउन मन लागेको होला नि ! तर, आउन पाउँदैनन्’, उनले भने, ‘झन् सरकार बसेको कसले छोड्ला ? ’

उनले सरकारमा बसेको दलको संविधान कार्यान्वयन गर्नुपर्ने दायित्व भएको बताए। ‘सरकारमा बसेकाले संविधान कार्यान्वयन गर्नुपर्छ’, उनले भने, ‘जनताले पनि यो काम गर्नुपर्छ। जनताले नै बनाएको संविधान हो।’

संविधान कार्यान्वयनमा कुनै बाधा नरहेको उनले सुनाए। ‘संविधान कार्यान्वयन धमाधम भइरहेको छ। त्यसैले त तीनवटा निर्वाचन भए। जनताले मतदान गरे। दलहरू जनतामाझ गए’, उनले भने, ‘संविधानबमोजिम सरकार बन्यो। बजेट पनि संविधानअनुसार आयो। त्यही संविधानमा टेकेर काम हुँदै छ।’

‘हात भाँच्नेलाई कारबाही हुन्छ’

उनले कांग्रेस बाँके सभापति किरण कोइरालाको हात भाँच्नेलाई कारबाही हुने बताए। ‘हात भाँचेको भए कारबाही हुन्छ। कसले भाँचेको हो छानबिन हुनुपर्छ’, उनले भने, ‘आवश्यक छानबिनपछि नेकपा कार्यकर्ता होस् या कांग्रेस अन्यायपूर्ण व्यवहार हुँदैन।’ उनले नेकपा हुनासाथ उन्मुक्ति नपाउने बताए। ‘छानबिन गर्नुअघि फैसला गर्ने कुरामा सरकारले विश्वास गर्न मिल्दैन। हाम्रा निकायहरू छन्। उनीहरूले छानबिन गर्छन्’, उनले भने, ‘ पहिला त दोषी ठहरिनुपर्‍यो नि ! त्यसपछि न कारबाही हुन्छ। छानबिन नगरी घटनामा को संलग्न छ भन्ने पुष्टि नभई आरोप लाग्दैमा समात्न मिल्दैन।’

२८२ जनालाई आममाफी

सरकारले संविधान दिवसको अवसरमा २८२ जना कैदीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताबमोजिम उनीहरूको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व र बाँकी कैद र सजाय माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको हो।

यमबहादुर बने सहायक रथी

मन्त्रिपरिषद् बैठकले सेनाका सहायक रथी दर्जाको विशेष पद (चार वर्षका लागि) सिर्जना गर्दै महासेनानी यमबहादुर अधिकारीलाई पदोन्नति गर्ने निर्णय गरेको छ। प्राविधिक प्रमुख सेनानी वानीरा थापा र अमूल कार्की ढलीलाई प्राविधिक महासेनानी दर्जामा पदोन्नति गरिने भएको छ। मेलम्ची खानेपानी आयोजनाका  श्रमिकको बाँकी ज्याला सम्बन्धित ठेकेदारबाट असुल गरी हिसाब मिलान गर्ने गरी राहतस्वरूप भुक्तानी गर्न स्वीकृति दिने निर्णय गरिएको सरकारका प्रवक्ता बाँस्कोटाले बताए।

इजिप्टका राष्ट्रपतिले दिए शुभकामनाइजिप्टका राष्ट्रपति अब्देल फथ्थाह इलसिसीले नेपाली जनता, सरकार र राजनीतिक दलका नेताहरूलाई राष्ट्रिय दिवसको शुभकामना दिएका छन्। यसका लागि उनका विशेष प्रतिनिधि च्याम्बरलिन अब्देल अजिज अल सरिफले नेपाली दूतावासमा आएर राजदूत झविन्द्र अर्यालसँग भेट गरेका थिए।

दूतावासले राष्ट्रिय दिवस मनाएको थियो। इजिप्टका सहायक परराष्ट्रमन्त्री हानी सलिम सहभागी भएको दूतावासले जनाएको छ। इजिप्टमा रहेको दूतावासले अफ्रिकी क्षेत्रका १८ मुलुकलाई हेर्छ। सहायक मन्त्री सलिमले नेपाल र इजिप्टबीचको सम्बन्ध परिपक्व हुँदै अघि बढेको बताएका थिए। नेपालले मनाउन लागेको भ्रमण वर्षमा इजिप्टको सहयोग र अनुभव बाँड्न तयार रहेको उनको भनाइ थियो।

बेइजिङमा मनाइयो संविधान दिवस

बेइजिङ : बेइजिङमा नेपाली दूतावासले बिहीबार संविधान दिवस मनाएको छ। राजदूत लीलामणि पौड्यालले यसलाई नेपालले राष्ट्रिय दिवसका रूपमा मनाइरहेको बताए। चीन नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र स्वतन्त्रताको सम्मान गर्ने असल छिमेकी मुलुक भएको उनको भनाइ थियो।

दुई मुलुकबीच दौत्य सम्बन्ध कायम भएदेखि चीनले नेपालको विकासमा पूर्ण सहयोग गर्दै आएको उनले उल्लेख गरे। उनले राष्ट्रिय दिवस समारोहका मुख्य अतिथि चिनियाँ उपविदेशमन्त्री ल्वो चाओहुईसँग टोस्ट गरेका थिए।

दूतावासले आयोजना गरेको रात्रिभोजमा विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधि, चिनियाँ पदाधिकारी, चिनियाँ व्यवसायी, चीनका लागि नेपालका पूर्वराजदूत, चीनमा अध्ययनरत र बसोबास गर्दै आएका नेपालीको उपस्थिति थियो।

अन्नपूर्णपोस्टमा खबर छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: