भरतपुर महानगरपालिकाको आन्तरिक आय तीस करोडले वृद्धि

चितवन – भरतपुर महानगरपालिकाले गत आर्थिक वर्षमा अनुमान गरेभन्दा करिब तीस करोड रुपैयाँ बढी आन्तरिक आम्दानी गरेको छ । हिजो भरतपुर महानगरपालिकाको वार्षिक समीक्षा कार्यक्रममा महानगरले एक अर्ब ४७ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको जानकारी दिएको हो । अघिल्लो आर्थिक बर्ष महानगरपालिकाले गत आवमा कूल एक अर्ब १७ करोड ९२ लाख रुपैयाँ राजश्व संकलन गर्ने अनुमान गरेको थियो ।
भरतपुर महानगरले गत आवमा कृषि प्रवद्र्धन अन्तर्गत ६५ लाख र दूध उत्पादनमा ३५ लाख गरी कूल एक करोड रुपैयाँ अनुदान वितरण गरेको छ ।

आर्थिक तथा सामाजिक विकास महाशाखा प्रमुख प्रद्युम्न प्रसाद उपाध्यायका अनुसार, साना सिँचाईतर्फ ३० लाख, डीप बोरिङतर्फ १० लाख र बीउविजन आत्मनिर्भरताका लागि २५ लाख रुपैयाँ अनुदान दिइएको थियो । दूध उत्पादनतर्फ २५ पैसा प्रतिलिटरका दरले अनुदान दिइएको महानगरले जनाएको छ ।
भरतपुर महानगरपालिकाले गत आर्थिक वर्षमा पूर्वाधार विकास क्षेत्रतर्फ ५७ प्रतिशतमात्रै खर्च गरेको छ । पुँजीगततर्फ कुल विनियोजित बजेट एक अर्ब २९ करोड २२ लाख ४० हजार रुपैयाँ रहेकोमा ७३ करोड ९२ लाख ७० हजार रुपैयाँमात्र खर्च भएको थियो । कुल एक सय ६६ वटा नगरस्तरीय योजना रहेकोमा ४० वटामात्र सम्पन्न भएको भरतपुर महानगरले जनाएको छ ।

कार्यक्रममा चालु आर्थिक वर्ष २०७६र७७ को योजना समेटिएको वार्षिक कार्ययोजना किताब सार्वजनिक गरिएको थियो । महानगरपालिकाले गत आर्थिक वर्ष २०७५र७६ मा गरेका कामहरूको बारेमा महानगरपालिकाका विभिन्न महाशाखा प्रमुखहरुले जानकारी गराएका थिए । महानगर क्षेत्रमा कार्यरत अन्य सरकारी कार्यालयका प्रमुखहरुद्वारा कार्य प्रगति र भावी योजनाबारे जानकारी दिइएको थियो ।
भरतपुर महानगर प्रमुख रनु दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद घनश्याम दाहाल, कृष्ण भूर्तेल र मिलनबाबु श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, महानगर उपप्रमुख पार्वती शाह ठकुरी, प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी लगायतले मन्तव्य व्यक्त गुर्नभएको थियो ।

कालिका न्यूज़

Leave a Reply

Scroll to Top
%d bloggers like this: