अमेरिकामा चर्चलाई गुम्बा बनाएर बुद्ध मूर्ति राखिने

काठमाडाैं, २३ भदाै : नेपाली मूर्तिकारले बनाएको १८ फिट अग्लो बुद्धको मूर्ति अमेरिकास्थित एक गुम्बामा राखिने भएको छ। सानफ्रान्स्किोमा रहेको चर्चलाई गुम्बा बनाएर त्यहाँउक्त बुद्धको मूर्ति राख्न लागिएको हो।पाटन औद्योगिक क्षेत्रभित्र रहेको शाक्य ह्यान्डिक्राफ्टमा मूर्तिकार वीरेन्द्र अवालेको समूहले उक्त मूर्ति तयार गरेको हो। उक्त समूहमा कलाकार गणेश प्रजापति, रामकृष्ण महर्जन र राजु महर्जन छन्।उक्त मूर्तिलाई सोमबार जहाजबाट लगिनेछ। तामाको उक्त मूर्ति बनाउन दुई वर्ष लागेको मूर्तिकार वीरेन्द्रले बताउनुभयो।

उक्त मूर्ति हेर्न पुगेका ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपाली कला र कलाकारको प्रसिद्धिलाई यो कामले थप उचाइ दिएको बताउनुभयो।उहाँले मूर्तिकारको कामको प्रशंसा गर्दै महानगर कला, संस्कृतिको संरक्षणका प्रतिबद्ध रहेको बताउनुभयो। ‘भिला परासोल टेम्पल’ ले शाक्य ह्यान्डिक्राफ्टलाई मूर्ति निर्माणका लागि अनुरोध गरेको क्राफ्टका प्रोप्राइटर सागर शाक्यले बताउनुभयो।उहाँले उभिएको बुद्धको उक्त मूर्ति निकै आकर्षक भएको बताउँदै आफ्नो कारखानाबाट धेरै यस्ता मूर्ति विदेश पठाएको जानकारी दिनुभयो।

भिला परासोल टेम्पलका बोर्ड अफ डिरेक्टर अल्फ्रेड वाङले चर्च किनेर त्यसलाई गुम्बाका रूपमा डिजाइन गरेपछि बुद्धको मूर्ति बनाउन अर्डर दिएको बताउनुभयो। उहाँले बुद्धको मूर्ति प्रतिस्थापनाले गुम्बालाई अझै मनमोहक बनाउने बताउनुभयो।यसै गरी भिला परासोल टेम्पलका अध्यक्ष मरिआन हुङले बुद्धको मूर्ति मिहिनेतका साथ तयार गरेको खुसी व्यक्त गर्दै नेपाली मूर्तिकारको क्षमताको प्रसंसा गर्नुभयो।विदेशी पाहुनासँग कुरा गर्दै महानगरका प्रमुख चिरीबाबु महर्जनले ललितपुरको पहिचान, कला र संस्कृति भएको बताउनुभयो। यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: