देशलाई विकासको नयाँ युगतर्फ लैजाने समय आयो – अध्यक्ष प्रचण्ड

चितवन : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाललाई विकासको नयाँ युगतर्फ लैजानुपर्ने समय आएको बताउनु भएको छ। भरतपुर महानगर पालिकाले आज यहाँ आयोजना गरेको भरतपुर विमानास्थल विस्तार एवं सुधार सम्बन्धमा सरोकारवाला बीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अब विकासको गतिलाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याउनु भयो ।छिटोभन्दा छिटो विकास चाहेका जनताले विकासले गति लिएको देख्न नपाए उनीहरूमा बेचैनी बढेर जाने उल्लेख गर्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष दाहालले भन्नुभयो, “हामीले छिटोभन्दा छिटो ‘एक्सन’द्वारा जनतालाई आश्वस्त पार्न जरुरी छ ।

नेताहरु विकासको नयाँ युगतिर जानुपर्छ ।” अब पनि देशले राजनीतिक अन्योल र अस्थिरता थाम्न नसक्ने भएकाले हामी सबैको ध्यान विकास र निर्माणतर्फ लगाउन जरुरी भएको उहाँको भनाइ थियो ।देशमै रोजगारी सिर्जना गरी विकासलाई नयाँ युगतिर लैजान जोड दिँदै अध्यक्ष दाहालले देशमा शान्ति, स्थिरता र राष्ट्रको एकतासँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निम्ति सबै लाग्न पनि आग्रह गर्नु भयो । नवलपरासी, मकवानपुर, धादिङ र गोर्खाको केन्द्र बिन्दुका रुपमा रहेको चितवनलाई नमूना जिल्लाको रुपमा अघि बढाएर देशैभर सन्देश दिन आफूले चाहेको बताउँदै उहाँले यहाँ रहेको भरतपुर विमानस्थललाई विस्तार गर्ने कार्यमा आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विमानस्थल स्तरोन्नतिका लागि नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरणका विषयमा रक्षा र पर्यटन मन्त्रालयका मन्त्री एवं उच्च अधिकारीहरुसँग छलफल गरिने अध्यक्ष दाहालले बताउनु भयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले काठमाडौँ विमामस्थलमा चाप बढ्दै गएकाले आन्तरिक साना जहाज उडान र अवतरणका लागि वैकल्पिक विमानस्थलको रुपमा भरतपुरलाई विकास गरिने र यसका लागि अध्ययन गर्न एक हप्ताभित्र समिति गठन गरी काम अघि बढाइने बताउनु भयो ।उहाँले अब यस खालका छलफल र बैठक नगर्न काम अघि बढाइने छ भन्नु भयो ।

मन्त्रालयले आफ्नो नीति तथा कार्यक्रममा पनि भरतपुर विमानस्थलको स्तरोन्नति र विस्तार गरी रात्रिकालीन उडान गर्ने जानकारी दिँदै मन्त्री भटृराईले उक्त विमानस्थल जोखिम पूर्ण बन्दै गएकामा भने उडान बन्द गर्ने वा विस्तारको विकल्प नभएको बताउनु भयो।मु ख्यमन्त्री डोरमणि पौडेलले सरकारले आवश्यक ठानेमा सँगै रहेको नेपाली सेनाको गणलाई स्थानान्तरण गरी विमान स्थल विस्तार गर्न सकिने जानकारी दिनु भयो । आफ्नो प्रदेशका सबै जिल्लामा साना विमान स्थल जरुरी रहे पनि भरतपुर विमान स्थललाई विस्तार गरिनु पर्ने, प्रदेशको राजधानी हेटौँडा नै सुनिश्चित हुनेमा आफू विश्वस्त रहेको र यसका लागि पनि भरतपुर विमानस्थल विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: