भरतपुर विमानस्थल विस्तार : प्राविधिक टोली बनाउने मन्त्रीको घोषणा

१८ भदौ, चितवन । भरतपुर विमानस्थलको विस्तार तथा स्तरोन्नतीको प्रयास सुरु भएको छ ।

यसका लागि एक साताभित्र तीनै तहका सरकारका प्रतिनिधिसहित प्राविधिक टोली गठन गर्ने पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले घोषणा गरे ।

भरतपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा भरतपुर मन्त्री भट्टराईले भरतपुर विमानस्थलको विस्तारलाई प्राथमिकतामा राखिएको बताए । उनले चितवनमा क्षेत्र नः ३ का सांसद एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संयोजनमा रक्षामन्त्री, प्रधानसेनापतिसहित विमानस्थलसँग सरोकार राख्ने पक्षहरुसँग तत्काल बैठक राखिने उनले बताए ।

विमानस्थलको रनवे विस्तारका लागि नेपाली सेनाले भोगचलन गरेको जग्गा आवश्यक पर्छ । रक्षा मन्त्रालय र सेनापतिले विकासका लागि बाधक नहुने बताएकाले नेपाली सेनालाई समेत विश्वासमा लिएर रनवे विस्तारको काम अघि बढाइने मन्त्री भट्टराईले बताए । ‘बैठकका लागि बैठक गरेर बसेर हुँदैन, अब एक्सनमा जानुपर्छ’, पर्यटनमन्त्री भट्टराईले भने, ‘भरतपुर विमानस्थलबारेमा अब सर्वपक्षीय बैठक हुँदैन, काम हुन्छ ।’

मन्त्री भट्टराईले मापदण्ड बनाउन र त्यसविपरीतका संरचना हटाउन र महानगरलाई आग्रह गरे ।

नेकपाका अध्यक्ष प्रचण्डले विमानस्थल विस्तारका लागि पर्यटनमन्त्रीले चालेको कदममा साथ दिने बताए । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल भरतपुर विमानस्थलको विस्तार आवश्यक भइसकेको भन्दै प्रदेश सरकारको साथ रहने बताए ।

के हो विमानस्थलको समस्या ?

भरतपुर विमानस्थलको रनवे जम्मा १२ सय मिटर छ । एटिआर ७२ सिटे विमान अवतरणका लागि कम्तीमा ४ सय मिटर रनवे थप्नुपर्ने विमानस्थल अधिकारीहरु बताउँछन् । त्यसका लागि सेनाले भोगचलन गर्दै आएको घोडा तवेलाको जग्गा आवश्यक पर्ने विमानस्थलका प्रमुख पवन गौत्तमले बताए ।

यसैगरी विमानस्थलको दक्षिण पूर्वतर्फ मापदण्ड विपरित बनेका संरचना र विद्युतको ‘हाइएक्सटेन्सन’ लाइन छन् । विमानस्थलको दक्षिणपूर्वमा तत्कालीन भरतपुर नगरपालिकाले प्लटिङ गर्न दिएर बनेका संरचनाहरु पनि छन् ।

मापदण्ड विपरित निर्माण भएका भौतिक संरचनाबारे अध्ययन गर्न ११ जेठ २०७१ सालमा बनेको समितिले २ सय ५७ घरहरु मापदण्ड विपरित भएको प्रतिवेदना दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा ७ को उपदफा १ र २ विपरित बनेका घरहरु तत्काल हटाउन सुझाव दिइएको थियो । तर अहिलेसम्म त्यो कार्यान्वयन हुन सकेको छैन ।

यद्यपि भरतपुर विमानस्थल आसपास (हाइवे क्षेत्रभन्दा दक्षिण) घरको नक्सापास ६ बर्षदेखि रोकिएको छ । २०७० मंसिर २५ गतेबाट थप संरचना निर्माण गर्न रोक लगाइएको छ । तर केहीले भने पहुँचको भरमा घर बनाएका छन् भने कतिपयले नक्सापास नै नगरी संरचना बनाएका छन् ।

अनलाइनखबर

Leave a Reply

Scroll to Top
%d bloggers like this: