तीजमा राष्ट्रपतिको अपिल

१६ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीहरूको महान् पर्व तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना दिएकी छन् ।

राष्ट्रपतिले शुभकामना सन्देश जारी गरी नेपाली नारीहरुमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सदभाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको कामना गरेकी हुन् ।

सन्देशमा उनले नेपाली मौलिक संस्कृति सम्वर्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचार जीवनशैली अपनाउन अपिल गरेकी छन् ।

सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको तीज पर्वले नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सदभाव कायम गर्नुका साथै एकापसमा खुसी साटासाट र मनोरञ्जनकोे अवसरसमेत प्रदान गर्दै आएको राष्ट्रपतिको भनाइ छ ।

तीज मनाउने शैलीमा सकारात्मक सुधारको खाँचो : उपराष्ट्रपति

यसैबीच उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ्ग’ले तीजको अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपाली दिदी-बहिनीहरुलाई शुभकामना दिँदै आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै तीज मनाउन आग्रह गरेका छन् । उनले नेपाली संस्कृतिको महत्वपूर्ण पाटोको रुपमा रहेको हरितालिका तीजलगायतका हाम्रा चाडपर्वहरु मनाउने शैलीमा केही सकारात्मक सुधारको खाँचोसमेत औँल्याएका छन् ।

उनले तीज पर्वले आपसी सम्बन्ध प्रगाढ बनाउँदै महिला अधिकारलाई अझैमाथि उठाउने विश्वास व्यक्त गरेका छन्, उपराष्ट्रपति पुनले जारी गरेको शुभकामना सन्देशमा लेखिएको छ, ‘हरितालिका तीज पर्वले दिदीबहिनी र आम नेपालीका बीच आपसी सद्भाव, सहिष्णुता, भाइचाराको अभिवृद्धि गर्दै महिला अधिकारलाई अझैमाथि उठाउनेमा विश्वस्त छु ।’

विभिन्न कालखण्डका क्रान्ति तथा संघर्षमा महिलाहरुले पुर्‍याएको योगदानको सम्मान गर्दै उनले यस अवसरमा आन्दोलनबाट प्राप्त उपलब्धिप्रति गौरव गर्न पनि सबै दिदीबहिनीमा आग्रह गरेका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: