नेपालमा जति छिटो कर्मचारी समायोजन विश्वमै भएको छैन : मन्त्री पण्डित

१५ भदौ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीयतामा गएपछि नेपालमा जति छिटो कर्मचारी समायोजन विश्वमा कुनै पनि देशमा नभएको दावी गरेका छन् । उनले नेपालमा भन्दा छिटो कर्मचचारी समायोजन भएको विश्वमा कुनै मुलुक भए उदाहरण दिन पत्रकारलाई चुनौतीसमेत दिए ।

आइतबार काठमाडौंमा आयोजित साक्षातकार कार्यक्रममा उनले सरकारले प्रशासनिक काम र आर्थिक वृदिदर हासिल गर्ने काममा इतिहासमै फड्को मारेको दावी पनि गरे ।

‘संघीयता अन्तरगतको स्थानीय तह, प्रदेश र संघमा प्रशासनिक रुपमा यति छिटो कर्मचारी समायोजन र संगठन संरचना र दरबन्दी मिलानको काम संसारमा कहीँ पनि भएको छैन’ उनले भने ।

मन्त्री पण्डितले स्थानीय तहको मागको आधारमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगको विज्ञापन खुलाइएको र प्रदेशका लागि पनि आवश्यक कर्मचारीको व्यवस्था गर्न लोक सेवा आयोगमार्फत् विज्ञापन खुलाउने तयारी गरिएको जानकारी दिए ।

मन्त्री पण्डितले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि पनि काम गरिरहेको दावी गरे । भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियतापूर्वक काम गरिरहेको मन्त्री पण्डितले बताए ।

उनले मुलुक संघीयतामा गएकाले तीनै तहमा देखिएको समस्या एकै दिनमा समाधान गर्ने कुराको कल्पना गर्न नमिल्ने तर्क पनि गरे ।

अनलाइनखबर

Leave a Reply

Scroll to Top
%d bloggers like this: