विदेशी नागरिकप्रति कठोर बन्दै जापान, एकवर्षमै ६२ जना नेपालीसहित ८ सय ३२ विदेशीको भिसा रद्द

टोकियो । जापानले विदेशी नागरिकमाथि गर्दै क्रममा एकवर्षमै ६२ जना नेपालीसहित ८ सय ३२ जनाको भिसा रद्द गरिदिएको छ । यसरी भिसा रद्द गरेर आफ्नो देश फर्काइएकामध्ये आधा बढी विद्यार्थीहरू छन्।

जापानको अध्यागमन विभागले सन् २०१८ मा ८ सय ३२ जना विदेशीहरूको भिसा रद्द गरेको तथ्याङ्क मङ्गलबार सार्वजनिक गरेको जापानी समाचार संस्था एनएचके टेलिभिजनले जनाएको छ।

अध्यागमन विभागले प्रदान गरेको स्टाटस ’अनुमति’ भन्दा फरक क्रियाकलापहरू गरेको भन्दै गत वर्ष ८ सय ३२ जनाको भिसा रद्द गरिएको जापानको कानुन मन्त्रालयलाई उद्धृत गर्दै यहाँको माईनिचि सिनबुनले समाचार लेखेको छ।

मन्त्रालयका अनुसार जापानले नियमविपरित काम तथा रोक लगाइएका अन्य क्रियाकलाप गर्नेलाई भिसा रद्द गरेर उनीहरूको देश फर्काउने नीति सन् २००५ बाट अवलम्बन गरेको थियो।

अध्यागमन ब्युरोले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार भिसा रद्द भएर फर्काइएकामा विद्यार्थीहरूको संख्या ४ सय १२ रहेको छ । सन् २०१७ मा यस्तो संख्या केवल २ सय ४० रहेको थियो।

त्यस्तै प्राविधिक प्रशिक्षणमा आएका मध्ये १ सय ५३ जनासमेत फर्काइएका छन् । अघिल्लो वर्ष यो संख्या १४५ रहेको थियो।

जापानी महिला वा पुरुषसँग विवाह गरेर बस्दै आएका मध्येपनि ८० जना विदेशीहरू उनीहरूकै देश फर्काइएका छन् । यसरी फर्काइएकामध्ये अधिकांशले जापानमा बस्नकै लागि नक्कली विवाह गरेको पाइएको जापानी अधिकारीहरूलाई उदृत गर्दै समाचार संस्था जापानटाईम्सले उल्लेख गरेको छ।

यसरी फर्काइएकामध्ये केहीको भने जापानी श्रीमती वा जापानी श्रीमानबाट सन्तान समेत भइसकेको बताईएको छ।

यसैगरी विद्यार्थी तथा अन्य प्रयोजनका लागि जापान आएर काम गर्ने अनुमति लिएकामध्ये पनि ६९ जनाको भिसा रद्द गरेर उनीहरूको देश फर्काइदिएको जापानी अधिकारीहरूले बताएका छन्।

गत वर्ष भिसा रद्द गरेर फर्काइएकाहरूमा विद्यालय छोडेर भागेका, प्राविधिक प्रशिक्षणमा आएर पनि प्रशिक्षणमा नगई पार्ट टाइम काम गर्ने गरेको र अध्यागमनले स्वीकृत दिएको भन्दा फरक काम गरेको तथा गलत प्रयोजनको लागि नक्कली विवाह गरेकाहरूको भिसा रद्द गरिएको अध्यागमन ब्युरोले जनाएको छ।

भिसा रद्द हुनेहरूको संख्या अहिले सम्मकै उच्च हो । सन २०१६ मा २ सय ९४ र सन २०१७ मा ३ सय ८५ जनाको भिसा रद्द गरिएकोमा सन २०१८ मा ८ सय ३२ जनाको भिसा रद्द गरिएको समाचारमा उल्लेख गरिएको छ।

समाचारमा जनाइएअनुसार भियतनामका सबैभन्दा बढी ४१६ जनाको भिसा गत वर्ष रद्द भएको थियो।

त्यसैगरी चिनियाँ नागरिक १ सय ५२ जनाको भिसा रद्द गरिंदा नेपाली नागरिक ६२ जनाले गत वर्ष भिसा गुमाएर नेपाल फर्कनुपरेको छ।

यसरी भिसा गुमाउनेको चौथो नम्बरमा  फिलिपिन्सका रहेका छन् । ४३ जना  फिलिपिनोले नियम विपरित कामकाज गरेको पाइएपछि भिसा रद्द गरिएको तथ्याङ्क अध्यागमन ब्युरोले मङ्गलबार सार्वजनिक गरेको हो ।

डिसी नेपाल

Leave a Reply

Scroll to Top
%d bloggers like this: