गीतहरूको बाहुल्य

काठमाडौँ — गायक हेमन्त शर्माका अनुसार संगीत क्षेत्रमा अहिले ‘अन्डरग्राउन्ड म्युजिसियन’ हाबी भइरहेका छन् । मूलधारमा नआईकनै तिनले आफूलाई स्थापित गराइरहेका छन् ।
स्वप्न सुमन, वर्तिका राईजस्ता गायकगायिकाको उदाहरण दिँदै उनले भने, ‘अहिले कला हुनेले कसैलाई खुसी पारिरहनुपर्दैन । उनीहरू युटयुबमार्फत नै परिचित बन्न सक्छन् ।’

युटयुबको तागतबारे जानकार भएपछि गायक शर्मा पनि यसको उपयोग गर्न थालेका छन् । उनले पछिल्लो समय यही प्लेटफर्मबाट आफ्ना म्युजिक भिडियो सार्वजनिक गरिरहेका छन् । यसै साता ‘बरिखा आउन्या…’ गीत भिडियोसहित अपलोड गरेका छन् । उक्त भिडियो आइतबार दिनभर ट्ेरन्डिङको पहिलो नम्बरमा पर्‍यो । ‘पाँच सात वर्षपछि मेरो गीत यसरी लोकप्रिय हुँदै छ,’ उनले भने, ‘सुदूरपश्चिमेली शब्दमा पहिलो पटक गाएको हुँ ।’

आइतबारको ट्ेरन्डिङ सूची संगीतमय देखियो । दोस्रो, चौथो र पाँचौं स्थानमा पनि गीतसम्बन्धी कन्टेन्ट नै थिए । तेस्रो नम्बरमा तामिल एक्सन फिल्म ‘स्केच’ थियो । हिन्दीमा डब गरिएको फिल्म हेरेर कतिपय नेपाली दर्शकले युटयुबमा कमेन्ट लेख्न पनि भ्याएको देखियो । विजय चन्दरको लेखन/निर्देशनमा अभिनेता विक्रम र अभिनेत्री तमन्नासँगै सुरी, विश्वनाथ, आरके सुरेश लगायतको मुख्य भूमिका छ ।

ट्ेरन्डिङको दोस्रो नम्बरमा ‘लाइछौ बेसन, चिन्न’नि नसक्ने आइछ फेसन…’ गीतको नयाँ भर्सन थियो । नारायण रायमाझी, मेलिना राई र बीबी अनुरागीको स्वर रहेको गीतमा यसअघि सिन्धु मल्लले स्वर दिएकी थिइन् । पहिले कुन्दन राईले अरेन्जमेन्ट गरेकोमा यसपालि तेजेन्द्र गुरुङले संयोजन गरेका छन् ।

गीतको भिडियोमा हिपहप र लोकनृत्यको फयुजन देख्न सकिन्छ । रमेश बीजीको गीतमा गायक रायमाझीकै संगीत समाविष्ट छ । निकै अघि बनाएको गीत भए पनि यसको सान्दर्भिकता कायमै रहेको ठानी नयाँ भर्सन तयार पारेको रायमाझीले कान्तिपुरलाई बताए ।

‘त्यो बेला युवाहरूको फेसनलाई व्यंग्य गर्दै यो गीत बनाएका थियौं,’ उनले भने, ‘अहिले पनि व्यंग्य सान्दर्भिक हुन्छ । गीतलाई पुनर्ताजगी दिऊँ भनेर यस्तो गरिएको हो ।’ पहिलेको अडियो र भिडियो दुवै अस्पष्ट भएकाले नयाँ प्रविधिबाट राम्रो बनाइएको उनले बताए । उनी आफ्ना अन्य गीतलाई पनि रि–रेकर्ड गराउने तरखरमा छन् ।

मंसिरमा रिलिज हुने भनिएको फिल्म ‘प्रसाद’ को गीत ‘नि लै लै…’ ट्ेरन्डिङको चौथो नम्बरमा छँदा यसमा ६ लाख भ्युज थियो । गणेश शाहीको रचना र सुवास भुसालको संगीतमा केतन क्षत्रीले गाएको गीत ‘हार्ट टचिङ’ रहेको तुलसीराम खरेलको प्रतिक्रिया छ । उनी लेख्छन्, ‘ट्रेन्डिङ एकमा नआएसम्म हेरेको हेर्‍यै गर्ने हो ।’ गीतले आफूलाई भावुक बनाएको भन्ने खालका फिडब्याक धेरै आएका छन् । ‘यति धेरै मन छुने गीत पहिलो पटक सुन्दै छु’, चक्रपाणि दाहालको प्रतिक्रिया, ‘मेरै परिवेश, मेरै शब्दहरू, मेरै भाका, मेरै समाज । गीत सुनेर म टोलाएँ ।’

ट्ेरन्डिङको पाँचौँ स्थानमा ‘नेपाल आइडल सिजन टु’ को पियानो राउन्डको भिडियो थियो । १० लाख भ्युज पुग्नुका साथै चार हजारभन्दा बढी प्रतिक्रिया यसमा थिए । युटयुबबाटै उक्त प्रतियोगिता हेरेकाहरूले आफूलाई मन पर्ने सहभागीका पक्षमा कमेन्ट गर्नुका साथै निर्णायकहरूलाई नै सल्लाह–सुझाव दिएको समेत देखियो । ‘फिदा’ शब्द प्रयोग गर्ने जजलाई त्योभन्दा लाखौं गुणा कर्णप्रिय र सार्थक शब्द नेपालीमै छ भनेर भन्दिनुहोला,’ यात्रीराज पँगेनी लेख्छन्, ‘त्यो शब्द हो— मुग्ध ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: