श्रीमान्‌को मृत्युको खबरपछि श्रीमतीको सुसाइड नोट- हाम्रो ला*सलाई सँगै राखिदिनु

इटहरी- वैदेशिक रोजगारीका क्रममा कतारमा श्रीमान्‌ ललित बहादुर लिम्बुको मृत्यु भएको खबर सुनेपछि मोरङको सुन्दरहरैचा-५ की टिकाकुमारी लिम्बुले आफूलाई सम्हाल्न नसकेर मृत्यु रोजिन्।

आइतबार साँझ आत्महत्या गर्नुअघि टिकाकुमारीले ‘सुसाइड नोट’मा लेखिन्- ‘हामी बुढाबुढीसँगै बाँच्न नसके पनि सँगै मर्न त सक्छौं। यसमा कसैको दोष छैन। हाम्रो लासलाई सँगै राखिदिनु।’

साउन २५ गते शनिबारको रात। ललित भोलिपल्टको छुट्टि अघिल्लो रात देखिनै मनाउने सुरसारमा लागे। कतारको दोहामा कार्यरत उनी आइतबार परेको बकर इदको बिदा मनाउन अघिल्लो दिन नै साथीहरुसँग समुद्री किनारतर्फ लागे। सोक्रममा उनीसँग ४ जना साथी थिए।


अलिक चञ्चले स्वभावका ललित किनारबाट समुद्रतर्फ केही परसम्म पुग्ने कोसिसमा थिए। त्यहीबेला आएको सामुद्रिक छालले ललितलाई लपेटेर लग्यो। बिदाको रमाइलो मनाउन सँगै गएका साथी किनारमै हल न चल रहे। ललित समुद्रमा समाहित भएको टुलुटुलु हेर्नुसिवाय उनीहरुका लागि अन्य केही उपाय रहेन।

दसैंमा घर आउने बाचा गरेका उनी इदको छुट्टिमै सधैंका लागि बिदा भए।

उक्त दुर्घटना हुँदा नेपालमा बिहानको ३ बजेको थियो। घरमा सबैजना सुतेका थिए। तर, बिहान उठ्नेबित्तिकै परिवारले नचिताएको र कहिल्यै सुन्न नपरोस् भन्ने खबर सुन्नुपर्‍यो।

घटना भएको करिब ३ घन्टापछि अर्थात् बिहानको ६ बजेतिर उनका साथीहरुले परिवारमा खबर गरिदिएका थिए। खबर पाउनासाथ परिवारमा रुवावासी सुरु भयो। श्रीमती टिकाकुमारी बेहोस भइन्। करीब २ घन्टापछि उनी होसमा आएकी थिइन्।

विगत १३ वर्षदेखि कतारमा कर्म गरिरहेका ललितको प्राण पनि कर्मभूमि अर्थात् मरभूमिमा गयो। टिकाकुमारी र ललितको पहिलो भेट त्यही मरुभूमिमा भएको भयो, जहाँ ललितले अन्तिम श्वास फेरे।

११ वर्षअगाडि कामदारकै रुपमा टिकाकुमारी कतारमा थिइन्। चितवन घर भएकी उनी उमेरमा ललितभन्दा ६ वर्ष जेठी थिइन्। त्यो बेलासम्म अविवाहित रहेकी टिका र ललितको मन मिल्यो। मायाको अगाडि उमेर बाधा बन्नेवाला थिएन। ६ वर्ष जेठी प्रेमिकासँग विवाह गर्न राजी भए ललित। दुई वर्षअघि मात्रै टिकालाई ललितले घर भित्र्याएका थिए।

टिकालाई घर भित्र्याए पनि ललितसँग उनको औपचारिक विवाह भने भएको थिएन। दसैंमा ललित घर आउने र विवाह गर्ने योजनामा थिए दुवै जना।

यही बीचमा कतारको कमाइले धरान-१५ मा घर बनाउँदै थिए। ललितको जीवनको ठूलो सपना थियो घर। टिकाकुमारीले सुसाइड नोटमा देवर विपीनलाई उदृत गर्दै लेखेकी छिन्, ‘धरानको घर ललितको ठूलो सपना हो। बाबा-ममीलाई राखिदिनु।’

धरानमा घर ठडिइसकेको छ। अब अन्तिम चरणको मात्रै काम बाँकी छ। त्यही नयाँ घरमा विवाह गर्ने योजनामा थियो परिवार। तर, नयाँ दुलाहादुलहीले सँगै घर प्रवेश गर्न नपाइ उनीहरुको प्राणपखेरु उड्यो।

परिवारमा पूरै सन्नाटा छाइसकेको थियो। टिकाकुमारी मन बहलाउन घरभित्र बाहिर गरिरहेकी थिइन्। केही क्षणमा कोठाभित्र पसेर रुने कराउने पनि गर्थिन्।

परिवारका अन्य सदस्य पनि सम्हालिने अवस्थामा थिएनन्। घरभरि रुवावासी चलिरहेकै थियो। त्यहीबेला उनले सुसाइड नोट लेखेकी रहिछन्। साँझको ६ बजेतिर उनी नुहाउँछु भन्दै बाथरुम छिरिन्। मोबाइल साथमै लगेकी रहिछन्। ढोका बन्द गरेर सावर खोलिन्। सावरको आवाज बाहिरसम्म आएको थियो।

मोबाइलबाट चितवनमा रहेका आफ्ना भाइलाई म्यासेज गरिछन्। जहाँ उनले लेखेकी थिइन्- अब म बाँच्न सक्दिनँ।

टिकाकुमारीको पेटमा ७ महिनाको बच्चा थियो। उनले पेटमा हुर्किँदै शिशुको पनि ख्याल गरिनन्। श्रीमान् नभएपछि जीवनको कुनै अर्थ नभएको बुझिन् उनले। त्यसपछि भेन्टिलेसनको रडमा सलको पासो लगाइन्।

करीब १५ मिनेटपछि उनका भाइले परिवारका अन्य सदस्यलाई सम्पर्क गरे। पहिला पनि पारिवारिक रुपमा खासै सम्पर्क नहुने गरेकोले ढिला गरी सम्पर्क भयो।

‘दिदी कता छ?,’ भन्दै टिकाका भाइले फोनमा सोधे।

यताबाट जवाफ फर्काइयो, ‘बाथरुमतिर नुहाउन छिरेकी छ।’

‘हैन केही भयो कि एकपटक हेर्नुपर्‍यो,’ उनले अत्तालिएको आवाजमा भने।

त्यसपछी टिकालाई बारम्बार बाथरुमको ढोका खोल्न भनियो। भित्रबाट सावरबाट पानी झरिरहेको एकोहोरो आवाजमात्रै आइरहेको थियो। टिकाले कुनै प्रतिक्रिया नजनाएपछि अन्ततः ह्याम्मरले हानेर ढोका फोरियो।

टिकाका भाइले भनेजस्तै वास्तवमै भित्र केही भइसकेको थियो। छोरो गुमाएको शोकमा डुबेको परिवारलाई फेरि अर्को बज्रपात परेको थियो।

ललितका भाइ विपिनले तत्काल एम्बुलेन्स बोलाए। ‘नजिकै रहेको दिक्षीत मेडिकलमा लगेर चेक गरेको धुकधुकी मात्र बाँकी छ, घोपा लैजानु भन्यो,’ विपीनले घटनाबारे बताए, ‘घोपा (बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान) पुर्‍याएको केही मिनेटमै भाउजु बित्नुभयो।’

अझै पनि टिकाको शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै राखिएको छ। सुसाइड नोटमा ‘हाम्रो लास सँगै राख्नु’ भनिएको कारण ललितको शव नआउन्जेल टिकाको शव पनि सोही अस्पतालमै राखिने भएको छ। दूतावासमार्फत सम्पर्क भइरहेकोले आगामी आइताबारसम्म ललितको शव नेपाल आउने पारिवारिक स्रोतले जानकारी दिएको छ।

अहिले ललितको शवको पर्खाइमा छ उनको परिवार। साथमा टिकाको शव पनि।

यस्तो छ टिकाले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोट:
बाबु विपीन आइएमईमा १ लाख ५० हजार रुपैयाँ छ, निकाल्नु। ५० हजारको रसिद छ लगेर जानु। मेरो नागरिकता पनि लानु।

आमा, बाबा, दिदी, बहिनीको राम्रोसँग केयर गर्नु। हाम्रा सबै सपनाहरु अधुरा भए। धरानको घर पूरा गरेर बस्न सकेनौं।

पठाउने- इन्दिरा जोशी, कतार

पाउने- टिका कुमारी लिम्बु

१,००,००० छ।

पचास हजार ललितले पठाको हो।

नागरिकतामा रसिद छ लगेर जानु बाबु।

म आफूले आफैंलाई सम्झाउन नसकेर हो। कसैको दोष छैन। हामी बुढाबुढी सँगै बाच्न नसके पनि सँगै मर्न त सक्छौं। यसमा कसैको दोष छैन। हाम्रो लासलाई सँगै राखिदिनु।

पैसा सुटकेसमा छ हेर्नु ल।

धरानको घर ललितको ठूलो सपना हो। बाबा, ममीलाई राखिदिनु।

साभार अग्रिम नेपाल

Leave a Reply

Scroll to Top
%d bloggers like this: