सन् २०२० मा नेपाललाई टेष्ट राष्ट्रसँग खेल्ने अवसर

३० साउन, काठमाडौं । सन् २०२० नेपाली क्रिकेटका लागि एउटा अवसर बन्न सक्छ । त्यो हो टेष्ट मान्यता राष्ट्रसँग क्रिकेट खेल्ने ।

एसियाली क्रिकेट परिषद् (एसीसी) को सन् २०२० को कार्यतालिकामा राखिएको टी–२० एसिया कप प्रतियोगितामा नेपालले टेष्ट मान्यता राष्ट्रसँग खेल्ने अवसर पाउन सक्छ ।

यो प्रतियोगिता एसियाका टेष्ट मान्यता प्राप्त राष्ट्रले स्वत खेल्न पाउनेछन् भने नेपालजस्ता एसोसिएट राष्ट्रले छनोट चरण पार गर्नुपर्छ । छनोट चरण पार गरेर एसोसिएटमध्ये एउटा टीमले टी–२० एसिया खेल्न पाउनेछ ।

एसीसीले छनोट चरणलाई पनि पश्चिम क्षेत्र छनोट र पूर्व क्षेत्र छनोट गरी विभाजन गरेको छ । एउटा क्षेत्रबाट २ टीमले टी–२० एसिया कप खेल्न पाउनेछ ।

पूर्वक्षेत्र छनोट प्रतियोगिता थाइल्यान्डमा हुनेछ । मार्चमा हुने छनोटमा नेपालसँगै थाइल्यान्ड, भुटान, तीन, म्यानमार, हङकङ, मलेसिया र सिंगापुरले प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै पश्चिम क्षेत्र छनोटमा बहराइन, ओमान, इरान, कतार, कुवेत, साउदी अरेबिया, माल्दिभ्स र युएई छन् ।

पूर्वी र पश्चिम क्षेत्र छनोटका शीर्ष दुई टीमबीच फेरि टी–२० एसिया कप छनोट खेल हुनेछ । त्यो प्रतियोगिता सन् २०२० को अगस्टमा मलेसियामा हुनेछ । उक्त छनोट प्रतियोगितामा पहिलो हुने टीमले टी –२० एसिया कप खेल्न पाउनेछ । टी–२० एसिया कप पाकिस्तानमा आयोजना हुनेछ ।

यो प्रतियोगितामा आयोजक पाकिस्तानसँगै भारत, श्रीलंका, बंगलादेश, अफगानिस्तान र एसिया कप छनोटको विजेता सहित गरेर ६ टीमको सहभागिता रहने छन् ।

इमर्जिङ टीम एसिया कपको पनि अवसर

एसीसीले सार्वजनिक गरेको बार्षिक कार्यतालिकामा नेपाली पुरुष क्रिकेट टीमलाई अर्को पनि अवसर छ ।

डिसेम्बरमा भारतमा हुने ५० ओभरको इमर्जिङ टीम एसिया कपमा पनि नेपालले टेष्ट मान्यताप्राप्त देशसँग खेल्ने मौका पाउने भएको छ । यो प्रतियोगितामा आयोजक भारतसँगै, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र आईसीसी एकदिवसीय विश्व वरियताको एसिया क्षेत्रबाट एसोसिएटमध्ये शीर्ष तीनमा पर्ने राष्ट्रले खेल्न पाउनेछ ।

अहिले नेपाल एकदिवसीय क्रिकेटमा आईसीसी विश्व बरियतामा १५औं स्थानमा छ । एसिया क्षेत्रमा भने नेपाल छैटौं स्थानमा छ । एसोसिएट राष्ट्रमध्ये एसियामा भने नेपाल पहिलो स्थानमा छ । नेपालले यही वरियता कायम राख्न सके इमर्जिङ कप खेल्न पाउनेछ ।

त्यस्तै, एसीसीले सार्वजनिक गरेको कार्यतालिकामा नेपाली महिला क्रिकेट टिमको लागि पनि अवसर छ । सन् २०२० को जुनमा एसीसी महिला एसिया कपको छनोट हुनेछ भने महिला एसिया कप सेप्टेम्बरमा हुनेछ । त्यस्तै, यू–१९ एसिया कप भने २०२० को नोभेम्बरमा हुनेछ ।

साभार अनलाइनखबर

Leave a Reply

Scroll to Top
%d bloggers like this: