कतारमा नेपालीमाथि सांघातिक आक्रमण, एकजनाको मृत्यु, पाँच घाइते

२९ साउन, काठमाडौं । कतारको दोहामा मंगलबार राति नेपालीमाथि सांघातिक आक्रमण भएको छ ।

दोहास्थित जैदा पार्कमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

घटनामा सुनसरीका तवरेज अन्सारीको मृत्यु भएको र उनको शव हमाद अस्पतालमा रहेको दूतावासले जनाएको छ ।

घाइतेहरुको हमाद अस्पतालमा नै उपचार भइरहेको छ । पाँचजना घाइतेमध्ये उमर अन्सारीको अवस्था गम्भीर भएकाले सघन उपचार कक्षमा उपचार भइरहेको छ । घाइतेहरु इब्राहिम अन्सारी र नौसाद अन्सारी भने खतरामुक्त अवस्थामा रहेको दूतावासले जनाएको छ ।

घटनापछि पक्राउ परेका अकवर मियाँ र महसुद अन्सारीलाई दूतावासको सहयोगमा प्रहरीबाट हिरासत मुक्त गराइसकेको समेत दूतावासले जनाएको छ । घाइते सबै सुनसरी जिल्लाका रहेका छन् ।

नेपाली दूतावासले भीडभाड नजान समेत कतारमा रहेका नेपालीलाई सचेत गराएको छ ।

साभार अनलाइनखबर

Leave a Reply

Scroll to Top
%d bloggers like this: