विश्व नेपाली साहित्य महासंघको जापान शाखाको पहिलो कार्यक्रम सम्पन्न

यहि अगष्ट १२ तारिख विश्व नेपाली साहित्य महासंघको जापान शाखाले पहिलो कार्यक्रम “संस्था परिचय तथा रचना वाचन” संस्थाका अध्यक्ष देवी बहादुर ईङनामको सभापतित्वमा टोकियोको नेवा डाईनिङ हल ओकुबोमा सम्पन्न गरेको छ। कार्यक्रममा एन आर एन ए आई सी सी सदस्य ओम गुरुङको प्रमुख आतिथ्यता, तमु धीं का केन्द्रीय महासचिव गिरी प्रसाद गुरुङको विशिष्ट आतिथ्यता र एन आर एन ए जापानका वरिष्ठ उपाध्यक्ष देवीलाल भण्डारीको विशेष आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा जापानका अन्य विभिन्न संस्थाका प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथी ओम गुरुङ, विशिष्ट अतिथी गिरी प्रसाद गुरुङ र बिशेष अतिथी देवीलाल भण्डारीले आफ्नो मन्तब्य राख्ने क्रममा जापान शाखालाई शुभकामना दिदै आगामी दिनमा सहकार्य गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए। जापानका विभिन्न संस्थाहरू तमु धीं जापानका अध्यक्ष तथा एन आर एन ए जापानका महिला उपाध्याक्ष अनिता गुरुङ, थकाली सेवा समाजका अध्यक्ष बुद्धी गौचन, पूर्वी नेपाल विकास सहकार्य केन्द्रका अध्यक्ष शुभाष लोहनी र किरात याक्थुङ चुम्लुङका सचिव बाल बिक्रम तिगेलाले जापान शाखालाई शुभकामना दिएका थिए।

उक्त कार्यक्रममा विश्व नेपाली साहित्य महासंघका केन्द्रीय सदस्य भुवन रोकाले संस्थाको परिचय दिदै यसका उदेश्यहरु साथै अहिले सम्म गरेका कार्यहरू बारे प्रष्ट पार्दै जापान शाखामा रहेका पदाधिकारीहरू लगाएत सम्पूर्ण सदस्यहरूको औपचारिक परिचय गराएका थिए।

कार्यक्रममा विजय स्याङबो, शिवराज राई, विमन किराती, दिलीप राई, गंगा गगन, सयपत्री थुलुङ, आईन्द्र राई “आँकुरा”, सुगम साकुरा, दीप मुस्कान लगायत करिव डेड दर्जन जति साहित्यकारहरूले आफ्ना कविता, गजल, मुक्तक, हाइकु लगाएतका रचनाहरू प्रस्तुत गरेका थिए।

कार्यक्रममा सभापति देवी बहादुर ईङनामले जापानमा सबै संघ सस्थाहरुसंग सहकार्य गर्दै विदेशमा नेपाली साहित्यको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्ने प्रतिबद्धता ब्यक्त गर्दै यस कार्यमा सबै संघ संस्था लगायत सर्जकहरूको सहयोगको अपेक्षा समेत गर्दै कार्यक्रम समापन गरेका थिए। कार्यक्रममा सचिव बिमन किरातीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने संस्थाका महासचिव रविन्द्र दिखुक्पाले बिच बिचमा आफ्ना चोटिला रचनाहरू सुनाउदै कार्यक्रम सञ्चालन गरेका थिए।

Leave a Reply

Scroll to Top
%d bloggers like this: