‘हिमालको फेदीमा भेडिगोठ

ग्दी २५ साउन । धवलागिरी हिमालसंग मितेरी लगाए जस्तै सेताम्मे भेडाबाख्रा । हिउँ जस्तै सेता भेडाबाख्राको लर्को र हुलले हिमालको हिउँजस्तै सेताम्मे बनेको छ आधार शिविर क्षेत्र । यिनै भेडाबाख्रासंग हिमालको फेदीमा रमाएका छन, मल्कबाङका देवान (हिमबहादुर) छन्त्याल ।

बैदेशिक रोजगारिको क्रममा मलेसियामा कम्युटर संग दैनिकी गुजारेका छन्त्यालको दैनिकी अहिले भने फेरिएको छ । भेडिगोठमा रहेका भेडाबाख्रालाई चरण क्षेत्रमा लैजाने, बन्यजन्तुबाट जोगाउन रेखदेख गर्ने र भेडाबाख्रालाई बजारीकरण गर्ने उनको अहिलको दैनिकी हो । बिगत ५ महिनादेखि व्यवसायिक भेडाबाख्रा पालन सुरु गरेका धवलागिरि गाउँपालिका– ५ मल्कबाङका छन्त्यालले भेडिगोठलाई धवलागिरि हिमालको फेदीतिर लगेका छन् ।

गर्मियाम सुरु भएसंगै चरणको लागि हिमालको काखमा गोठ पुर्‍याएका छन्त्याल नियमित जसो भेडिगोठमै समय विताउने गर्छन् । उनको गोठमा अहिले करिब ४ सय ५० भेडाबाख्रा छन् । रु ४० लाख लगानीमा ३५० भेडाबाख्रा खरिद गरी भेडापालन सुरु गरेका छन्त्यालले अहिले थप रु २० लाख लगानी गरि अन्य भेडिगोबाट भेडाबाख्राको संख्या बढाएका छन् ।

‘‘ हिउँदमा बेशि झरेका भेडिगोठ अहिले लेकमा छन, हिमालकै फेदीसम्म चरणको लागि गोठ पुर्‍याउनुपर्छ, जंगल, भिर पहरा र बुकी गोठका साथि हुन’’–छन्त्यालले भने । तल्लो क्षेत्रमा रहेका भेडिगोठ च्यामली, चौरवन, रिखार, रिरु, बाँझो बुकी हुँदै धौलागिरी हिमालको वेसक्याम्पमा पुर्‍याईएको छ ।

चौरवनदेखि बेसक्याम्प सम्मको भुगोल कठिन र जोखिमपूर्ण रहेकाले भेडिगोठका भेडाबाख्रा संगै गोठका सामाग्री ओसारपोसारमा गोठालाहरुलाई सकस हुने गरेको छ । गाउँदेखि च्यामली सम्म खच्चड मार्फत गोठमा खाद्यान्न लगायतको सामाग्री पुर्‍याउने गरिएपनि त्यहाँदेखि माथि भने मानिसले नै बोकेर हिउँ छिचोल्दै सामाग्री ढुवानी गर्नुपर्ने बाध्यता छ ।

घनघोर जंगल पार गरेर हिमालको फेदीको सम्मो फाँटमा चरण गर्दै गरेका भेडाबाख्राको लर्कोको सुन्दर दृष्यले भेडिगोठको दुखलाई भुलाईदिने गरेको छ ।
‘‘ दुई दशक बढी समय विदेशमा विताएँ, पुर्खाहरुकै पेशालाई व्यवसायिक बनाउन सकिन्छ कि ? भनेर ठुलो लगानीमा जोखिम मोलेर भेडाबाख्रा पालन थालेको हुँ, गोठमा हुने सबै सकसलाई सहर्ष स्विकार गरेको छु’’–छन्त्यालले भने । उनले गोठमा विताउने बाहेकको समयलाई आफ्नो पुरानै पेशा कम्प्युटर डिजाईनिङमा समेत लगाउने गरेका छन् ।

छन्त्यालको भेडिगोठमा काम गर्दै आएका याम गौचनले परम्परागत रुपमा हुँदै आएको भेडाबाख्रा पालनमा युवाहरुको आकर्षण बढ्नुलाई सकरात्मक मान्छन् ।‘‘ भेडिगोठ विस्तारै हराउँदै जान थालेको छ, बुढापाका मात्रै गोठाला छम, युवाहरु सबै शहर र विदेशतीर जान्छन्, भेडिगोठको निरन्तरताको लागि युवाहरुको आगमनले हामीलाई हौँसला थपिएको छ’’–दुई दशकदेखि भेडिगोठालाको काम गर्दैै आएका गौचनले भने ।

छन्त्यालको भेडिगोठमा अहिले २ जना गोठाला छन् । भेडिगोठको सुरक्षामा गोठालासंगै ‘भोटे कुकुर’ पनि राखिएका छन् । ‘‘गोठ र चरण क्षेत्रमा जंगली जनावरबाट जोगाउन कुकुर नै प्रमुख सारथि हो, कुकुरविना यसरी गोठ बस्न नै सकिँदैन’’–गोठाला गौचनले अनुभव सुनाए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: