टेष्ट राष्ट्रसँग अभ्यास खेल खेल्ने नेपालको तयारी

काठमाडौं । श्रीलंकामा आयोजना हुने यू-१९ एसिया कप क्रिकेटअघि नेपाली यू-१९ क्रिकेट टोलीले टेष्ट राष्ट्र पाकिस्तान र अफगानिस्तानसँग अभ्यास खेल खेल्ने तयारी गरेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक विनोद दासले प्रतियोगिता अघि श्रीलंकामै उपाधि दाबेदार दुई टोलीसँग अभ्यास खेलका लागि कुराकानी भईरहेको बताए ।

‘एसिया कप खेल्न आउने टिमसँग नै अभ्यास खेल खेल्ने कुरा भइरहेको छ,’ प्रशिक्षक दासले भने ‘अफगानिस्तान, पाकिस्तानसँग कुरा भईरहेको छ । हामीले अनुरोध पनि गरेका छौँ । आशा छ,  त्यही टिमहरुसँग म्याच खेल्न पाउछौ ।’

यस्तै प्रशिक्षक दासले श्रीलंकामा नेपालले तीन अभ्यास खेल खेल्ने समेत जानकारी गराए ।  ‘हामीले प्रतियोगिताअघि ३ वटा अभ्यास खेल खेल्ने तयारी गरेका छौं,’ दासले थपे ।

एसिया कपका लागि नेपाली टिम प्रतियोगिता सुरु हुनु भन्दा एक हप्ता अगाडी श्रीलंका जाने छन् । नेपाल अहिले टियु क्रिकेट मैदानमा प्रशिक्षण गरिरहेका छन् । नेपाली टिम भदौ ७ गते श्रीलंका जानेछ ।

‘हामी सोमबारबाट नेपालमै औपचारिक रुपमा तयारी गर्नेछौँ । भदौ ७ गते श्रीलंका जाने कार्यक्रम छ । एक हप्ता पहिले श्रीलंका जानु हामीलाई अनुमति मिलेको छ,’ प्रशिक्षक दासले भने, ‘यसबारे एसीसीले लिखित रुपमा पठाइसकेको छ ।’

एसिया कप भदौ १५ देखि २८ गतेसम्म श्रीलंकामा हुनेछ । एसिया कपमा नेपालसँगै भारत, श्रीलंका, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, कुवेत र युएई गरि आठ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।

साभार खेलपाटी

Leave a Reply

Scroll to Top
%d bloggers like this: