‘अब लोडसेडिङ हुँदैन, घरमा बिजुलीका उपकरण जोडे हुन्छ’

देशमा धेरै आयोजना बेलैमा सम्पन्न नहुँदा नागरिक निराशामा परिरहेको बेला विद्युत क्षेत्रमा भने उत्साहजनक काम भैरहेको छ । देश लोडसेडिङमुक्त भैसकेको छ भने नेपाल विद्युत प्राधिकरण बिजुली खेर जान नदिन खपत बढाउने उपायको खोजीमा लागेको छ ।तर विद्युत उत्पादन र वितरण सजिलो छैन । पाइलैपिच्छे अवरोध नै अवरोध छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हरेक आयोजनास्थलमै पुगेर समस्या समाधानको प्रयास गरिरहनुभएको छ । कार्यकारी निर्देशक घिसिङले भन्नु हुन्छ –  लोडसेडिङ हुन्छ भन्ने पिर भन्दा पनि हामीले बिजुली कसरी देशभित्रै खपत गर्ने भन्ने बहस र योजना बनाउनुपर्छ । देशभित्रै बिजुली कसरी खपत गर्नुपर्छ र खपतका क्षेत्रहरु के के हुन सक्छन भनेर अब नीति र योजना बनाउन ढिला भैसकेको छ । अब हामी सबैको नजर बिजुली उत्पादनसँगै खपतका क्षेत्रहरुतर्फ जानुपर्छ ।

अहिले वर्षाको समयमा हामीलाई पुग्ने बिजुली उत्पादन भैरहेको छ । कुनै कुनै बेला हामीले दुई सय मेगावाटसम्म भारतमा पठाएका पनि छौं । हामीले भारतसँग इनर्जी बैंकिङको सम्झौता गरेका छौं ।त्यसैले बर्खामा पठाउने र हिउँदमा उताबाट ल्याउने गर्दै आएका छौं । त्यसैले हामीलाई यही बर्खामा समस्या त समस्या परेको छैन भने आउँदो बर्खामा त झन बिजुली धेरै नै उत्पादन हुनेछ ।

अब आउँदो सुख्खा समयमा भने भारतबाट केही मात्रामा बिजुली आयात गर्नैपर्छ । यो आर्थिक वर्षमा हामीले झण्डै १ हजार मेगावाटका आयोजना सकिनेछन् र १ हजार मेगावाट राष्ट्रिय प्रणालीमा जोडिनेछन् । माथिल्लो तामाकोशी पनि यसै वर्ष आउनेछ । त्यसैले आउँदो हिउँदमा केही समस्या भए पनि त्यसपछि हामी बिजुली उत्पादनमा फड्को मारेको अवस्थामा हुनेछौं ।

( सम्पादित अंश )

साभार – सीधाकुरा अनलाइन

Leave a Reply

Scroll to Top
%d bloggers like this: