नमूना बन्यो रामेछाप–५ को वडा कार्यालय

२३ साउन, रामेछाप । गाउँ–गाउँमा पुगेका सिंहदरबारको पारदर्शितालाई लिएर अनेक प्रश्नहरू उठ्दै आएका छन् । तर, रामेछाप नगरपालिका–५ ले वडालाई नमूना बनाउने भन्दै हरहिसाब सार्वजनिक गर्नेलगायतका उदाहरणीय योजना अघि बढाएको छ ।

वडालाई नमूना बनाउन अग्रसर जनप्रतिनिधि र कर्मचारीले आफूले सम्पादन गरेका कामहरू सूचना पार्टीमा टाँस्न थालेका छन् । सञ्चालित योजनादेखि सामाजिक सुरक्षा भत्तालगायतका फेहरिस्त त्यस्ता सूचना पढ्न सकिन्छ ।

नयाँ आर्थिक वर्ष सुरु भएपछि सो आर्थिक वर्षमा वडामा आएको बजेट र सो बजेट खर्च हुने योजनाको नाम तथा लागत फ्लेक्बोर्डमा प्रिन्ट गरेर कार्यालयमा टाँस गरेको वडाध्यक्ष भीमबहादुर तामाङले जानकारी दिए । बोर्डमा उपभोक्ता समितिको नामसमेत समावेश हुने गरको छ ।

तामाङका अनुसार सो वडामा सामाजिक सुरक्षा भत्ता लिनेको नाम पनि कार्यालयको भित्तामा टाँस गरिएको छ । छात्रावृत्ति लिने विद्यार्थीको नाम पनि सबैले देखिनेगरी सार्वजनिक गरिएको उनले बताए ।

‘सबै कुरा भित्तामा टाँस गरिदिएको छ । जसलाई जे कुरा हेर्न मन लाग्यो त्यही हेर्छन् । कसैले केही कुरै सोध्दैनन् । नागरिकले यिनीहरुले मिलाएर खाए कि भनेर शंका पनि गर्दैनन्’, वडाअध्यक्ष तामाङले भने ।

रामेछाप नगरपालिकाकै दुर्गममा रहेको सो वडा कार्यालयमा भौतिक पूर्वाधारको पनि राम्रो व्यवस्थापन गरिएको छ । कार्यालयमा महिला र पुरुषको लागि छुट्टै शौचालयको व्यवस्था गरिएको छ । सेवा लिन आउने सेवाग्राही महिलाको लागि सेनिटरी प्याड र प्याड फेर्ने कक्षसमेत छुट्टै बनाइएको छ । यी सबै काम गर्न बजेटभन्दा पनि काम गर्ने इच्छा शक्ति चाहिने वडाअध्यक्ष तामाङको ठम्याइ छ । ‘इच्छा राखेपछि भएकै स्रोत साधन परिचालन गरेर पनि धेरै काम गर्न सकिने रहेछ’, उनले भने ।

रामेछापकी प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पारदर्शीताको यो प्रयोग आफ्ना लागि पनि नयाँ भएको बताउँछिन् । उनले सो वडाले नमूना अभ्यास गरेको बताउँदै यो अभ्यास सबै स्थानीय तह र अन्य सेवा प्रदायक सरकारी कार्यालले गर्नु पर्ने बताइन् ।

साभार अनलाइनखबर

Leave a Reply

Scroll to Top
%d bloggers like this: