कात्तिकदेखि रेलसेवा सञ्चालनमा आउने

धनुषा । राजधानी काठमाडौँबाट समुद्रसम्म बन्दरगाह पहुँच रहेको कोलकाताबीच रेलसेवा सञ्चालनसँगै यातायात दूरीमा कमी आउने भएको छ ।

भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबास आइपुग्ने रेलसेवाले कोलकाता बन्दरगाहबाट काठमाडौँ आउने मौजुदा दूरी घटाउने भएको हो । अहिले कोलकाताबाट मालसामान वीरगञ्ज हुँदै काठमाडौँ आउँदै छ भने रेलसेवापछि बर्दिबास हुँदै काठमाडाैं आउँदा मौजुदा दूरी १३० किलोमिटर घट्नेछ ।

तत्कालीन ब्रिटिस इन्डियाले नेपालको जङ्गलबाट काठ ओसार्नका लागि विसं १९९४ मा भारतको जयनगरदेखि महोत्तरीको बिजुलपुरासम्म रेलसेवा सञ्चालनमा ल्याएको थियो । काठ ओसार्नका लागि सञ्चालनमा ल्याइएको सो रेलसेवाले २०१८ सालदेखि यात्रुवाहक सेवा दिन थालेको हो ।

कोइला र पानीबाट सञ्चालन हुँदै आएको सो रेलसेवा २०५१ सालमा भारतले सहयोग स्वरूप उपलब्ध गराएपछि डिजेल इन्जिनका रूपमा सञ्चालनमा आएको थियो । जयनगरदेखि बिजुलपुरासम्मको दूरी ५२ किलोमिटर छ ।

यसैबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बहुप्रतीक्षित जयनगर–जनकपुर रेलसेवा निर्धारित समयमा नै सञ्चालनमा आउने बताउनुभएको छ । उहाँले कात्तिक महिनाभित्रमा नै सो रेलसेवा सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाइएको जानकारीसमेत दिनुभयो । यो रेलसेवा सञ्चालनसँगै दोस्रो विश्वयुद्धभन्दा पहिले नै १९९४ सालमा सुरु भएको नेपालको एकमात्र रेलमार्गले पुनर्जीवन पाउने छ । यो खबर आजकोगोरखापत्र दैनिकले छापेको छ ।

साभार : News24

Leave a Reply

Scroll to Top
%d bloggers like this: