पठाओको सेवा बढदै , पठाओ एपबाट अब ट्याक्सी बोलाउन सकिने

काठमाडौं । चर्चित राईड सेयरिङ एप पठाओले शुक्रबारदेखि काठमाडौंमा ट्याक्सीमार्फत पनि सेवा दिने भएको छ । पहिलो चरणमा करिब तीन सय ट्याक्सीमार्फत सेवा दिन लागिएको हो ।

मोबाईलमा पठाओको एप डाउनलोड गरेका सर्वसाधारणले यसअघि मोटरसाईकललाई आफूले चाहेको ठाउँमा बोलाएजस्तै शुक्रबारदेखि ट्याक्सी बोलाउन सक्नेछन् । काठमाडौं उपत्यकाको जुनसुकै स्थानबाट आफूलाई जानुपर्ने गन्तब्य उल्लेख गरेर आग्रह गरिएपछि नजिकैको ट्याक्सी यात्रु आईपुग्छ ।

यात्र्ु ट्याक्सीमा चढेपछि मात्रै बिल चढ्न सुरु हुने कम्पनीले जनाएको छ । ट्याक्सी सेवाको भाडा सरकारले तोके बमोजिम नै हुने बताइएको छ ।

मार्केटिङ म्यानेजर सुरक्षा हमालले भनिन्, ‘मोटरसाईकलजस्तै ट्याक्सी तथा कारबाट पनि सेवा थप गर्न हाम्रा यात्रु र शुभचिन्तकले हौस्याएपछि सुरु गर्न लागेका हौं ।’

पठाओले आफ्नो यात्रुहरुको सुरक्षा र उनीहरुको सामानको सुरक्षालाई विशेष ध्यान दिइने जनाएको छ । ट्याक्सी चालकको सबै विवरण कम्पनीसँग हुने छ । यस्तै यात्रा गर्दा कुनै अपि्रय गतिविधि सवारीभित्र भएको खण्डमा नियन्त्रण गर्न ट्याक्सीको लाईभ लोकेशन ट्र्याकमार्फत निगरानी भईरहने पनि जनाइएको छ । यात्रुका कुनै पनि समान ट्याक्सीमा छुटेको खण्डमा हराउने समस्या पनि अब हट्ने दाबी पठाओको छ ।

पठाओकी मार्केटिङ म्यानेजर हमालका अनुसार ट्याक्सी सेवा दिन र रात दुवै समयमा उपलब्ध हुनेछ । मोटरसाईकल सेयरिङ सेवा लिन पठाओ एप ५ लाख पटक डाउनलोड भइसकेको उनले जानकारी दिइन् । हाल मोटरसाईकलमा दैनिक १६ सय राईड हुने गरेका छन् ।

एपमार्फत राइड सेयरिङ सर्भिस, सामान डेलिभरी, खाना डेलिभरी सेवाका कारण बंगलादेशमा पठाओ निकै चर्चित मानिन्छ । यसले २०७५ कात्तिकबाट नेपालमा सेवा सुरु गरेको थियो । बिनादर्ता कर नतिरी पठाओ र टुटलले सेवा प्रदान गरेको भन्दै आन्तरिक राजश्व कार्यालय ललितिपुरले यि कम्पनीहरुमाथि कर छलिको अनुसन्धान गरिरहेको छ ।

भ्याट र संस्थागत आयकर अन्र्तगत टुटलमाथि ३ करोड ४० लाख कर निर्धारण भएको छ भने पठाओ माथिको अनुसन्धान अझै जारी छ । यस वर्षको बजेटमार्फत सरकारले स्टार्ट अप व्यवसायले २०७६ पुष मसान्तसम्म दर्ता भए आर्थिक वर्ष ०७५/०७६ अघिका कर मिनाहा हुने व्यवस्था गरेको छ ।

ट्याक्सी व्यवसायी के भन्छन् ?

विदेशमा यस्तो सेवा दिँदा निजी कारहरु प्रयोग गरिन्छ । तर, पठाओले भने पहिलो चरणमा ट्याक्सीलाई मात्र समेटेको छ । अहिलेसम्म ३ सय ट्याक्सीहरु आफ्नो नेटवर्कमा ल्याएको पठाओले बताएको छ । तर, धेरै ट्याक्सी व्यवसायीहरु भने पठाओप्रति सकारात्मक छैनन् ।

नेपाल मिटर ट्याक्सी व्यवसायी संगका अध्यक्ष अर्जुन गौतमले सरकारले लगाएको मिटरमा सरकारले नै तोकेको भाडा लिएर पनि व्यवसाय गर्न नसकिने वातावरण बनाइएको गुनासो गरे ।

‘प्रविधिको नाममा जसलाई मन लाग्यो उसैले एप बनायो । कार, मोटरसाईकल, ट्याक्सी चलायो । यो सरासर कानुनको उल्लघंन हो,’ गौतमले भने ।

केही व्यवसायी तथा यात्रुले त्यस्ता एपका कारण ठगिएको, मनलाग्दी सेवा शुल्क लिएको भन्ने गुनासो आफूले सुनेको भन्दै अध्यक्ष गौतमले सरकारले प्रविधि प्रयोगमा नियम बनाएर नियमन गर्न जरुरी रहेको बताए । नयाँ प्रविधिका नाममा यात्रु, सरकार र केही व्यवसायी भ्रममा परेको उनको भनाई छ ।

साभार : अनलाइनखबर

Leave a Reply

Scroll to Top
%d bloggers like this: