टि–ट्वान्टी बरीयतामा धोनीभन्दा पारस अघि

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले टि–ट्वान्टी बरीयतामा फड्को मारेका छन् । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ बरीयतामा पारस २५ औँ स्थानमा रहेका छन् । ९० अंक पाउँदै उनी करियरकै ठूलो बरीयतामा परेका हुन् ।

बुधबार सार्वजनिक नयाँ बरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका अन्य दुई खेलाडी पनि परेका छन् । कप्तान पारससहित सोमपाल कामी र वसन्त रेग्मी पनि यसमा पर्न सफल भएका हुन् ।

अलराउण्डरतर्फ पारसले भारतका हार्दिक पाण्ड्या, अफगानिस्तानका राशिद खान, दक्षिण अफ्रिकाका क्रिस मोरिस, वेस्ट इन्डिजका आन्द्रे रसेल, इङ्ल्यान्डका बेन स्टोक्सलाई पछि पारेका हुन् । अलराउण्डरतर्फ सोमपाल ४९ अंक बटुल्दै ६६ औं स्थानमा छन् ।

ब्याटिङतर्फ पारसले भारतका महेन्द्र सिंह धोनीलाई पछि पारेका छन् । पारस वेस्ट इन्डिजका क्रिस गेलभन्दा पनि अघि छन् । ब्याटिङतर्फ पारस ६६ औं स्थानमा छन् । यो उनको करियरकै राम्रो फड्को हो । बलिङको वरीयतामा वसन्त र सोमपाल क्रमशः ७१ औं र ७८ औँ स्थानमा परेका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: