विप्लवका गतिविधि नियन्त्रण गर्न बाक्लो मात्रामा प्रहरी परिचालन

अछाम प्रहरीले प्रतिबन्धित नेपाल कम्युनिस्‍ट पार्टी विप्लवका गतिविधि नियन्त्रण गर्न बाक्लो मात्रामा प्रहरी परिचालन गरेको छ। जिल्लाको पूर्वी क्षेत्रमा विप्लव कार्यकर्ताले गतिविधि बढाएको भन्दै प्रहरीले सर्च अप्रेसन नै चलाएको छ। प्रहरीको सर्च अपरेसन दुर्गम क्षेत्रका जंगलहरूमा अहिले बाक्लो मात्रामा प्रहरी देखिन थालेका छन्। नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ता लुकेर बसेको हुनसक्ने आशंकामा प्रहरीले जंगलमा गस्ती खटाएको बुझिएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका, तुर्माखाँद गाउँपालिका, रामारोशन गाउँपालिका र ढकारी गाउँपालिकाको जंगल क्षेत्रमा प्रहरीले निगारानी बढाएको हो।

स्थानीय नागरिकसँग समन्वय गाउँगाउँमा सादा पोसाकका प्रहरी देखिन थालेका छन्। २४सै घण्टा प्रहरीले गस्ती गरिरहेको छ। जिल्ला प्रहरी प्रमुख डिएसपी जनक शाहीका अनुसार विप्लव कार्यकर्ता भएको जानकारी भएका क्षेत्रमा प्रहरीले गस्ती बढाएको छ। विप्लव कार्यकर्ता पक्राउ गर्न प्रहरीले स्थानीय नागरिकसँग समन्वय गरिरहेको छ। डिएसपी शाहीले भने, ‘हामीले आम सर्वसाधारणदेखि समाजका प्रभुत्व व्यक्तिहरूसँग सहयोग मागिरहेका छौँ, उनीहरू कहाँ बस्छन् सूचना दिन अनुरोध गरिरहेका छौ।

जिल्लामा कुनै अवाञ्छित घटना हुन नदिनका लागि पनि सबैले सहयोग गर्नुपर्ने देखिन्छ।’ वडा कार्यालय र एनसेल टावरमा आगजनी विप्लव कार्यकर्ताले पुर्वि अछाममा गतिविधि बढाएलगत्तै प्रहरीले यस्तो अभियान चलाएको हो। साउन १५ गते जिल्लाको पञ्चदेवल विनायक नगरपालिका र तुर्माखाँद गाउँपालिकामा रहेको एनसेल टावरमा आगजनी गरेका थिए भने केही समयपहिले पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ३ को वडा कार्यालय जलाएका हुन्। त्यसको केही दिनपछि जिल्लाका १२ वटा वडा कार्यालयमा तालासमेत लगाएका थिए। उनीहरूले माथिल्लो कर्णाली आयोजनाको अछामस्थित सम्पर्क कार्यालयमा शक्तिशाली बम विस्फोट गराएर जिम्मेवारी लिएका थिए। जिल्लाको सदरमुकाममा रहेको मंगलसैन नगरपालिकाको गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले उक्त समूहका २ जना कार्यकर्ता पक्राउ गरेको थियो।

जिल्लाको रामारोशनमा विप्लव कार्यकर्तालाई प्रहरीले घेराबन्दीमा पारेपछि दोहोरो फाइरिङ भएको थियो। प्रहरीको घेरा तोडेर भाग्ने क्रममा उक्त समूहका तत्कालीन जिल्ला ईन्चार्ज शेरबहादुर विक ९दर्शन०को खुट्टा भाँचिएको थियो भने उक्त स्थानबाट ४ जना कार्यकर्ता समातिएका थिए। सुरक्षा समितिको बैठक गाउँगाउँमा विप्लव कार्यकर्ताले आफ्ना गतिविधि बढाएपछि जिल्लास्थित सुरक्षा समितिको बैठकसमेत बसेको छ। बैठकले सुरक्षा योजना तयार परेको जानकारी प्राप्त भएको छ। आवश्यक जनशक्ति माथिल्लो तहबाट माग गर्ने, सबै स्थानीय तहमा चौकिदार राख्न अनुरोध गर्ने लगायतका निर्णय भएका छन्। सुरक्षा संयन्त्रले विप्लव कार्यकर्ताले जनप्रतिनिधिलाई मुख्य तारो बनाउन सक्ने निष्‍कर्ष निकालेको छ। जनप्रतिनिधिलाई आफ्नो सुरक्षामा ध्यान दिन प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले आग्रह गरेका छन्। ‘जिल्लाका जनप्रतिनिधिले प्रथमिक सुरक्षाका उपाय अपनाउन अनुरोध गर्दछु’ उनले भनेका छन्।

Leave a Reply

Scroll to Top
%d bloggers like this: