निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास यसैवर्ष : पर्यटनमन्त्री भट्टराई

१९ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले यसै वर्ष निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गर्ने प्रतिवद्धता जनाएका छन् ।

विमानस्थल निर्माणको चर्चा शुरु भएको २४ वर्ष पुगिसकेको भन्दै उनले २५ औं वर्षमा शिलान्यास हुने आश्वासन दिएका हुन् ।

आइतबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आफ्नो योजना पेश गर्दै पर्यटनमन्त्री भट्टराईले निजगढ विमानस्थल कुनै पनि हालतमा बन्ने बताए । ‘विमानस्थल निर्माणका सम्बन्धमा उठेका गुनासो सम्बोधन हुन्छन्, कमभन्दा कम वातावरणको क्षति हुन्छ,’ उनले भने, ‘तर विमानस्थल बन्छ ।’

सरकारले वन मास्ने उद्देश्यले यो विमानस्थल बनाउन नथालेको उनले स्पष्ट पारे । समितिमा सांसद सरिता गिरीले नेपालमा ठूला परियोजनाको औचित्य नरहेको भन्दै स–साना विमानस्थल मात्र बनाउनु पर्ने सुझाव दिएकी थिइन् ।

उनको सुझावमा प्रतिक्रिया दिँदै मन्त्री भट्टराईले निजगढ विमानस्थलको विकल्प खोज्न नहुने बताए । अनेकौं अध्ययनले यो स्थान छनोट गरेको भन्दै निजगढ विमानस्थल नेपालको अर्थतन्त्र विकासका लागि ठूलो अवसर भएको बताए ।

मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षमा केवल टाउको गन्ने काम मात्र नहुने भन्दै पर्यटन विकासको आधार वर्षका रुपमा स्थापित गराउने प्रतिवद्धता व्यक्त गरे । ‘हाम्रो लागि संख्या महत्वपूर्ण विषय होइन,’ उनी भन्छन्, ‘पूर्वाधार विकासमा हामी केन्द्रित हुन्छौं ।’

मन्त्री भट्टराईले यसै वर्ष राजविराज, भरतपुर र सुर्खेत विमानस्थललाई रात्रीकालिन उडानका लागि योग्य बनाउने प्रतिवद्धता व्यक्त गरे । पोखरा र भैरहवा विमानस्थलको काम सन्तोषजनक रुपमा अगाडि बढेको भन्दै उनले नेपाल–भारत सीमाबाट नयाँ इन्ट्री रुट सञ्चालनका लागि सैद्धान्तिक तयारीको काम सम्पन्न भइसकेको जानकारी गराए ।

मन्त्री पद आफ्ना लागि नयाँ रहेको भन्दै उनले काम गर्दा गल्ती भए सच्याउने मौकाको अपेक्षा गरे । मन्त्रालयमा कर्मचारीहरुबाट तीन÷चार दिनकै अन्तरमा धेरै सिकेको भन्दै सबैको सहकार्यबाटै आफू अगाडि बढ्न चाहेको उल्लेख गरे ।

साभार अनलाइनखबर

Leave a Reply

Scroll to Top
%d bloggers like this: