रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थल सञ्चालनमा जर्मनीको चासो

काठमाडौँ, १४ साउन  – रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि जर्मनीको म्युनिख इन्टरनेश्नल एयरपोर्टले चासो देखाएको छ । विमानस्थल सञ्चालनको इच्छा जनाउँदै जर्मनीको म्युनिख एयरपोर्टले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई पत्र पठाएको हो ।

जर्मन सरकारको स्वामित्वको उक्त कम्पनीले विमानस्थल सञ्चालनका लागि मन्त्रालय र प्राधिकरणलाई औपचारिक पत्र पठाएको प्राधिकरणले जनाएको छ । नेपालस्थित जर्मनी राजदूताबासमार्फत पर्यटन मन्त्रालय र प्राधिकरणलाई भैरहवा विमानस्थल सञ्चालनका लागि प्रस्ताव आएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले राससलाई जानकारी दिनुभयो ।

“गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि जर्मनले चासो दिएको छ, जर्मनी राजदूतले पर्यटन सचिवसँग छलफल गरिसक्नुभएको छ । अन्य मुलुकबाट पनि प्रस्ताव आएका छन् । अब, छिट्टै जर्मनीकोतर्फबाट प्रस्ताव पेश हुन्छ”, उहाँले भन्नुभयो ।

म्युनिख विमानस्थलमा जर्मन सरकारको २६ प्रतिशत स्वामित्व रहेको छ । यो प्रस्तावप्रति मन्त्रालय र प्राधिकरण दुवै सकारात्मक देखिएको बताइन्छ । गौतमबुद्ध विमानस्थल सम्बन्धमा जर्मनीबाहेक अन्य मुलुकबाट औपचारिक प्रस्ताव नआएको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “कसलाई जिम्मा दिने भन्नेबार सबै प्रक्रिया पूरा गरेर छिट्टै निर्णय हुन्छ ।” गत जेठ १६ गतेको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ‘जिटुजी’ मोडेलमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

महानिर्देशक पोखरेलका अनुसार गौतमबुद्ध विमानस्थ सञ्चालनका लागि कुन देशको कस्तो कम्पनीलाई जिम्मेवारी दिने भन्ने सम्बन्धमा सरोकारवाला मन्त्रालयका प्रतिनिधि रहने गरी पर्यटन मन्त्रालयमा एक एकाइ गठन गरेर काम अघि बढाइनेछ । मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राधिकरण, कानून, न्याय तथा संसदीय मामिला, परराष्ट्रलगायत मन्त्रालयको प्रतिनिधि रहनेछन् ।

त्यसले प्रस्ताव छलफल गर्ने मूल्याङ्कन गर्ने र सरकारलाई सिफारिश गर्ने गरी मन्त्रालयले छिट्टै एकाइ गठन गर्ने जनाइएको छ । जर्मनीसहित अन्य मुलुकबाट पनि विमानस्थल सञ्चालनका लागि प्रस्ताव आएको स्रोतले जनाएको छ । सोही प्रस्तावका आधारमा मन्त्रालयले छलफल अघि बढाएको छ । म्युनिखले गौतमबुद्ध विमानस्थल ५० वर्षका लागि सञ्चालनको जिम्मा दिन प्रस्ताव गरेको बताइएको छ ।

आगामी डिसेम्बर महिनासम्म निर्माण सम्पन्न गरी सन् २०२० को जनवरीदेखि व्यावसायिक उडान गर्ने योजनाका साथ धमाधम निर्माण भइरहेको गौतमबुद्ध विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन केही ढिलाइ हुने भएको छ । विमानस्थल निर्माण सम्पन्न भएको करीब तीन महीनापछि मात्रै व्यावसायिकरुपमा सञ्चालनमा आउने प्राधिकरणका महानिर्देशक पोखरेलले बताउनुभयो ।

“उडान कार्यविधि, अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को सहमति प्रदानका लागि पहल गरिएको छ । भैरहवाबाट विमान प्रवेश बिन्दुका लागि आइकाओमा संयुक्तरुपमा निवेदन दिइएको छ । विमानस्थल सञ्चालनका लागि योग्य छ भनेर प्रमाणित गर्नुपर्ने हुन्छ ।

स्रोत : रासस

Leave a Reply

Scroll to Top
%d bloggers like this: