एक वर्षबीचमै बने ३० नयाँ सवस्टेसन, २९ वटाको क्षमता विस्तार

१० साउन, काठमाडौं । नुवाकोटको पैरबेसीमा बनिरहेको त्रिशुली थ्री-बी हब सवस्टेसनको निर्माण स्थलमा गत जेठ २ गते कुलमान घिसिङ काममा अवरोध गर्नेहरुसँग जंगिए । केहीले कुलमानको यो शैलीको आलोचना गरे भने कतिले प्रशंसा । तर, प्राधिकरण नेतृत्वले आफैं फिल्डमा पुगेर यसैगरी विवाद समाधान तथा सहजीकरण गरिदिँदा आर्थिक वर्ष २०७५/७६मा मात्रै ३० वटा नयाँ सवस्टेसन निर्माण सकिएका छन् । नेपालको इतिहासमा एकै आर्थिक वर्षमा यति धेरै क्षमताको सवस्टेसन एक वर्षमै निर्माण सकिएको पहिलोपटक भएको प्राधिकरण बताउँछ ।  
एक वर्षको बीचमा प्राधिकरणले ७०७.५ एमभीए क्षमताको सवस्टेसन निर्माण गरेको छ । यो वर्ष २२० केभी क्षमता (३३० एमभीए)को ढल्केबर सवस्टेसन चार्ज हुँदा १३२ केभीका ८ वटा सवस्टेसन तयार भए । जसको क्षमता २५९ एमभीए छ । त्यसैगरी यो वर्ष ३३ केभीका २१ वटा सवस्टेन बने, जसको कुल क्षमता १२८ एमभीए छ । यसै वर्ष प्राधिकरणले ४४४.३५ एमभीए क्षमताका २९ वटा सवस्टेसनको क्षमता विस्तार गर्‍यो, जसमा १३२ केभीका ३ वटा, ६६ केभीका ३३ वटा र ३३ केभीका २३ वटा सवस्टेसन छन् । चालु आर्थिक वर्षमा झापामा घैलाडुब्बा, तनहुँको मार्कीचोक, रोल्पाको होलेरी, सल्यानको शित्तलपाटी, जाजरकोटको कुदु, प्यूठानको दम्ती, कैलालीको हसुलिया लगायतका सवस्टेसन सञ्चालनमा आए । प्राधिकरणले विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनीय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सवस्टेसन निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सवस्टेसनको क्षमता स्तरोन्नति तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सवस्टेसन बनाउनेलगायतका काम गरिरहेको उनको भनाइ छ । लोडसेडिङ अन्त्य भएपनि हाल विद्युत आपूर्ति र वितरणको गुणस्तर कमजोर छ । त्यसैलाई सुधार्ने गरी हाल प्राधिकरणले देशभर सवस्टेसनहरु थप्ने र क्षमता विस्तार गर्ने काम तीव्र पारेको घिसिङ बताउँछन् । विशेषगरी विजुली झ्याप्प-झ्याप्प गएर पटक-पटक टि्रपिङ हुने समस्या समाधानका लागि प्राधिकरणले देशभर सवस्टेसन निर्माण र स्तरोन्नति गर्ने काम गरिरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ विजुली आपूर्तिलाई विश्वसनीय बनाउन र विद्युतीय दुर्घटनाको जोखिम घटाउन सवस्टेसनको निर्माणलाई तीव्रता दिइएको बताउँछन् । साभार : अनलाइनखबर

Leave a Reply

Scroll to Top
%d bloggers like this: