आफूलाई नसोधी पत्नीले डिग्री पढ्न थालेको भन्दै पतिले काटिदिए औंला

आफूलाई नसोधिकनै डिग्री पढ्न लागेको भन्दै बंगलादेशमा एक ईर्ष्यालु पतिले पत्नीको औंला काटिदिएका छन् । रफिकुल इस्लाम नामक ती पतिले आफ्नी पत्नी हवा अख्तरलाई आँखा बाँधेर अनि मुख थुनेर सरप्राइज गिफ्ट दिने बताए । अनि उनले पत्नीलाई हात तेर्स्याउन लगाएर उनको सबै पाँच औंला काटिदिए । त्यसपछि उनका एक नातेदारले अख्तरका औंला डस्टबिनमा फालिदिए । चिकित्सकहरूले औंला फेरि जोड्न नसकून् भनी डस्टबिनमा फ्याँकिएको हो ।

संयुक्त अरब अमिरातमा काम गर्ने इस्लामले पत्नीलाई पढाइ नछोडेमा खतरनाक परिणाम आउने चेतावनी दिएका थिए । ‘ऊ बंगलादेश आएपछि मसँग छलफल गर्न चाहन्थ्यो,’ अख्तरले भनिन् ।‘उसले अचानक मेरो आँखामा पट्टी लगायो अनि हात बाँधिदियो । उसले मेरो मुखमा पनि टेप लगायो र सरप्राइज गिफ्ट दिन्छु भन्यो । तर उसले मेरो औंला काटिदियो ।’

बंगलादेशका प्रहरी प्रमुख मोहम्मद सलुद्दीनले इसलामलाई ढाकामा पक्राउ गरेपछि उनले अपराध स्वीकार गरेको र उनीमाथि अर्काको स्थायी रूपमा अंगभंग गरेको अभियोग लगाइने बताए । मानवअधिकारवादी समूहहरूले इस्लामलाई जन्मकैद दिनुपर्ने माग राखेका छन् ।

‘ऊ रिसाएको थियो । आफूले जम्मा आठ कक्षा पास गरेको अनि पत्नी चाहिँ कलेजमा पढ्न गएकोले ऊ ईर्ष्यालु बनेको थियो,’ सलुद्दीनले भने ।अख्तरले देब्रे हातले लेख्न सिकेको र पढाइ जारी राख्ने बताएकी छन् । अहिले उनी आफ्ना आमाबुवाको घरमा छिन् । बंगलादेशमा यसअघि पनि शिक्षित महिलामाथि आक्रमणका घटना हुने गरेका छन् ।

द डेली मेलबाट

Leave a Reply

Scroll to Top
%d bloggers like this: