अष्ट्रेलियन कलेजले मान्यता नपाएपछि हजारौं विद्यार्थीको भविष्य अन्योलमा

अष्ट्रेलिया पछिल्लो समय नेपाली विद्यार्थीका लागि सपनाको शहर बन्दै गएको छ । उच्च शिक्षा हासिल गर्नका लागि विद्यार्थीले लाखौं खर्च गरेर विदेश जाने गरेका छन् । तर, पछिल्लो समय सम्बन्धन प्राप्त नभएका कलेजमा कन्सल्टेन्सीले मोटो रकम असुलेर पठाउने गरेको खुलासा भएको छ । अष्ट्रेलियाको सिड्नीस्थित अस्ट्रेलियान इन्स्टिच्युट अफ बिजनेस एन्ड इन्फर्मेसनले मान्यता नपाउँदा हजारौं विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

न्यूज २४ टेलिभिजनको कार्यक्रम सिधा कुरा जनतासँगमा मंगलबार अष्ट्रेलियाबाट स्काइपमा केही विद्यार्थी जोडिए । उनीहरुले हामीसँग आफू पढ्दै आएको कलेजको मान्यता खारेज भएको र मान्यता नपाएको कलेजमा अध्ययन गरिरहेको खुलासा गरे । डेढ वर्षअघि नर्सिङ कोर्स पढ्न सिड्नीस्थित अष्ट्रेलियन इन्स्टिच्यूट अफ बिजिनेस टेक्नोलोजी (एआईबीटी) पुगेका विद्यार्थीहरुले कलेजले नर्सिङ पढाउन मान्यता नपाएपछि उनीहरुले आफूहरु ठगिएको बताए ।

कलेज खोल्ने, चलाउने र पढाउने अनुमति भएपनि पढाइलाई नर्सिङ काउन्सिलले मान्यता दिएको थिएन । काठमाडौंका विभिन्न कन्सलटेन्सीमार्फत भर्ना गरिएको उनीहरुले कलेजले रजिस्ट्रेसनका चरणमा रहँदै गर्दा आफूलाई पठाएको भन्दै गुनासो गरे ।

नर्सिङ पढेकाहरुलाई अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा इन्टर्नशीसपका लागि मान्यता दिने रेगुलेटर एजेन्सीले पनि मान्यता नदिने भएपछि विद्यार्थीको डेढ वर्षको पढाइ खेर जाने अवस्था आयो । आफ्नो पढाइले मान्यता नपाउने भएपछि नेपाली विद्यार्थीहरुले नेपाली दूतावास र अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संगठनमा निवेदन समेत दिएका छन् ।

यता, अष्ट्रेलियाबाट विद्यार्थीले गुनासो गरिरहँदा शिक्षा मन्त्रालयको भने आधिकारिक जानकारी नआएकाले विद्यार्थीको विषयमा कुनै निर्णय लिन नसकिने गैरजिम्मेवारी अभिव्यक्ति दिएको छ । छात्रवृत्तिमा विद्यार्थी नगएकाले यस विषयमा सरकारले कुनै पनि सहयोग गर्न नसक्ने जवाफले अष्ट्रेलियामा रहेका विद्यार्थी थप मारमा परेका छन् ।

नेपाली विद्यार्थी अझ भनौं नागरिकलाई समस्या पर्दा सरकारले सहयोग गर्नुपर्ने ठाउँमा मन्त्रालयका सचिवबाट आउने अभिव्यक्तिले परिवार र विद्यार्थीमा नकरात्मक असर बढ्दै गएको छ । यद्यपी, अष्ट्रेलियाको दुतावासले भने नआत्तिन आग्रह गर्दा विद्यार्थीलाई के गर्ने भन्ने विषयमा थप अन्योल सृजना भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: