जैश–ए–मोहम्मद : काठमाण्डौबाट विमान ‘हाइज्याक’ गर्नेदेखि कश्मीर आक्रमणसम्म !

पाकिस्तानमा सक्रिय रहेको आतंकवादी संगठन जैश–ए–मोहम्मद फेरि एक पटक चर्चामा रहेको छ । जम्मू–कश्मीरको पुलवामा जिल्लामा ४० भन्दा बढी सुरक्षाकर्मीको ज्यान जाने गरी भएको आतंककारी आक्रमणको जिम्मेवारी जैश–ए–मोहम्मदले लिएको छ । जैस–ए–मोहम्मदका प्रवक्ता मोहम्मद हसनले एउटा विज्ञप्ति सार्वजनिक गर्दै आदिल अहमद उर्फ वकास कमाण्डोले विस्फोटक पदार्थले भरिएको कार सुरक्षाकर्मीको गाडीमा ठोक्काएको बताएका छन् । वकास कमाण्डो पुलवामा जिल्लाकै नागरिक भएको बताइएको छ ।

 

बिहीबार पुलवामामा भएकाे आक्रमणकाे एक दृश्य

जैश–ए–मोहम्मदले भारतीय भूमिमा आक्रमण गरेको यो पहिलो पटक भने होइन । यो सिलसिला जैश–ए–मोहम्मदका प्रमुख अजहर मसूदको गिरफ्तारीपछि सन् १९९९ बाट भएको थियो । डिसेम्बर२४ तारिख १९९९ का दिन १८० यात्री रहेको इन्डियन एयरलायन्सको काठमाण्डौबाट दिल्ली जाँदै गरेको जहाजको अपहरणबाट सुरु भएको थियो ।

विस्फाेटमा परि क्षतविक्षत भएकाे अवस्थामा सुरक्षाकर्मीकाे गाडी

मौलाना मसूद अजहरलाई भारतीय अधिकारीले सन् १९९४ मा कश्मीरमा सक्रिय आतंकवादी संगठन हरकत–उल–मुजाहिदीनका सदस्य भएको आरोपमा श्रीनगरबाट गिरफ्तार गरेका थिए ।

कसरी सक्रिय भयो जैश–ए–मोहम्मद ?

अपहरणकर्ताले काठमाण्डौबाट दिल्लीका उडेको जहाजलाई अफगानिस्तानको कन्दाहार लगेका थिए । उनीहरुले भारतीय जेलमा रहेका मौलाना मसूद अजहर, मुश्ताक जरगर, शेख अहमद उमर सइदजस्ता चरमपन्थी नेताको रिहाईको माग गर्दै जहाज अपहरण गरेका थिए ।

जहाज हाइज्याक भएको ६ दिनपछि तत्कालीन भारतीय सरकारले अपहरणकारीको शर्त मान्दै चरमपन्थी नेताहरुलाई रिहा गरेको थियो । त्यसको बदलामा उनीहरुले कन्दहारमा अपहरण गरिराखेको यात्रुसहितको विमान छोडेका थियो । त्यतिबेला स्वर्गीय अटल बिहारी वाजपेयी नेतृत्वको सरकार रहेको थियो ।

अपहरण गरी लगिएकाे इन्डियन एयरलाइन्सकाे जहाजसँगै अपहरणकारी

त्यसलगत्तै मौलाना मसूद अजहरले फेब्रुअरी २००० मा जैश–ए–मोहम्मदको स्थापना गरेका थिए । त्यसपछि यो चरमपन्थी संगठनले भारतमा कैयौँ आतंककारी आक्रमण गरेको छ ।

त्यसबेला सक्रिय रहेको हरकत–उल–मुजाहिदीन र हरकत–उल–अंसारका कैयौँ चरमपन्थी जैश–ए–मोहम्मदमा प्रवेश गरेका थिए । मौलाना मसूद अजहर आफै पनि हरकत–उल–अंसारका महासचिव रहेका थिए । उनी हरकत–उल–मुजाहिदीनसँगको सम्पर्कमा पनि थिए ।

पठानकोट, उडीदेखि पुलवामासम्मको आक्रमण

आफ्नो स्थापना भएको दुई महिनामै जैश–ए–मोहम्मदले श्रीनगरको बदामीबागमा रहेको भारतीय सेनाको स्थानीय मुख्यालयमा भएको आतंककारी आक्रमणको जिम्मेवारी लिएको थियो ।

त्यसपछि २८ जुन, २००० मा भएको जम्मू–कश्मीर सचिवालयमा पनि संगठनले आक्रमण गरेको थियो ।

त्यस्तै २४ सेप्टेम्बेर २००१ मा एक युवकले विस्फोटक पदार्थले भरिएको कारले श्रीनगरमा रहेको विधानसभा भवनमा ठक्कर दिएका थिए । त्यसै समय अर्का व्यक्ति विधानसभा भवनको पुरानो भवनमा पसेर आगो लगाएका थिए । यो घटनामा ३८ जनाको ज्यान गएको थियो ।

आक्रमण हुनेबित्तिकै जैश–ए–मोहम्मदले घटनाको जिम्मेवारी लिएको थियो तर अर्को दिन उसले आफूले घटना नघटाएको बताएको थियो ।

पठानकाेट आक्रमण

सन् २००१ को डिसेम्बर १ मा भएको भारतीय संसद भवनमा भएको आतंककारी आक्रमण र जनवरी २०१६ मा पञ्जाबको पठानकोटमा भएको वायु सेनाको अड्डामा भएको आक्रमणको जिम्मेवारी पनि जैश–ए–मोहम्मदलाई नै ठहराइन्छ ।

पठानकोटमा भएको आक्रमणभन्दा पहिले भारतमा भएका थुप्रै आक्रमणको जिम्मेवार ठहराइएको थियो । त्यसमध्ये सबैभन्दा ठूलो आक्रमण सन् २००८ मा मुम्बईमा भएको थियो । यो घटनामा आक्रमणकारीसहित १७४ जनाको ज्यान गएको थियो । घटनामा लश्कर–ए–तोएबाको मुख्य हात भएको भए पनि यसमा जैश–ए–मोहम्मदले पनि सघाएको भारतीय सुरक्षा एजेन्सीहरुले दाबी गरेका छन् ।

मुम्बई आक्रमण

सन् २००१ मा भारतीय संसदीय भवनमा भएको आक्रमणका मुख्य दोषी अफजल गुरु जैश–ए–मोहम्मदसँग जोडिएका थिए । उनलाई सन् २०१३ मा मृत्युदण्ड दिइएको थियो । डिसेम्बर २०१६ मा भएको कश्मीरको उडीमा सैन्य अखडामा भएको आक्रमणमा १८ जना भारतीय सैनिकको ज्यान गएको थियो ।

अफजल गुरु

त्यसको केही दिनमै भारतीय सेनाले नियन्त्रण रेखामा ‘सर्जिकल स्ट्राइक’ गरेको दाबी गरेको थियो ।

आतंककारी संगठनको सूचीमा समावेश

जैश–ए–मोहम्मदलाई भारत, ब्रिटेन, अमेरिका तथा संयुक्त राष्ट्र संघले पनि आतंककारी संगठनको सूचीमा समावेश गरेको थियो ।

अमेरिकाको दबाबमा आएर पाकिस्तानले पनि सन् २००२ मा यो संगठनमाथि प्रतिबन्ध लगाएको थियो । केही रिपोर्टहरुलाई मान्ने हो भने जैश–ए–मोहम्मदका प्रमुख मौलाना मसूद अजहर पाकिस्तानको पञ्जाब प्रान्तको बहावलपुरमा बस्दै आएका छन् ।

पठानकोटमा भएको आक्रमणपछि पाकिस्तानले बहावलपुर र मुल्तानमा रहेको जैश–ए–मोहम्मदको अखडामा कारबाही गरेको थियो । पाकिस्तानी सञ्चार माध्यमले अजहरका भाइलाई गिरफ्तार गरेको खबर पनि प्रकाशित गरेका थिए । पाकिस्तानसँग भारतले पटक–पटक अजहरलाई सुपुर्दगी गर्न माग गर्दै आएको छ । तर पाकिस्तानले भने प्रमाणको अभाव रहेको भन्दै टाल्दै आएको छ ।

पठानकोट आक्रमणपछि जैश–ए–मोहम्मदले अल–कलाममार्फत एक अडियो सार्वजनिक गर्दै भारतीय सुरक्षा एजेन्सी  ‘जिहादी’ हरुमाथि नियन्त्रण गर्न नसकेको भन्दै मजाक उडाएको थियो ।

आत्मघाती आक्रमण बढ्दै

पछिल्लो समय जैश–ए–मोहम्मदले आत्मघाती आक्रमण बढाउँदै लगेको छ । पछिल्लो पटक पुलवामामा भएको आक्रमण पनि आत्मघाती आक्रमण नै हो ।

४० भन्दा सुरक्षाकर्मीको ज्यान जाने गरी आदिल अहमद डार नामका युवकले आत्मघाती कार बम विस्फोृट गराएका थिए । उनी एक वर्षअघि मात्रै जैश–ए–मोहम्मदमा संलग्न भएका थिए ।

बिही‍बार आत्मघाती आक्रमणकारी गर्ने आदिल अहमद डार

आक्रमणपछि उनको फोटो र आक्रमणबारे जानकारी दिँदै गरेको एउटा भिडियो भाइरल भैरहेको छ । आधुनिक हतियार वरिपरि राखेर उनले भनेका छन्, ‘मेरो नाम आदिल हो । म एक वर्षअघि जैश–ए–मोहम्मदमा आवद्ध भएको थिएँ । एक वर्षपछि जैश–ए–मोहम्मदमा रहेर …अवसर पाएँ । यो समय मेरो भिडियो तपाईँहरुसामू पुगिसकेको हुनेछ । त्यतिबेला म स्वर्गमा पुग्नेछु । कश्मीरी नागरिकका लागि यो नै मेरो अन्तिम सन्देश हुनेछ ।’-

-बीबीसी हिन्दी र अन्य एजेन्सीकाे सहयाेगमा

Leave a Reply

Scroll to Top
%d bloggers like this: