एकसय वर्षपछि तस्बिरमा कैद भयो दुर्लभ कालो चितुवा

अफ्रिकाको कालो चितुवालाई अत्यन्तै दुर्लभ प्राणी मानिन्छ । तर दशकौँसम्म पनि यसको अवस्थाबारे स्पष्ट प्रमाण फेला पारिएको थिएन भने भने १०० वर्षसम्म कसैले यसको गुणस्तरीय तस्बिर लिन सकेको थिएन । यस्तोमा एक बेलायती फोटोग्राफर पहिलोपटक सो दुर्लभ तस्बिर लिन सफल भएका हुन् जसलाई सोमबार मात्र सार्वजनिक गरिएको थियो । फोटोग्राफर बील बरार्डले अफ्रिाको केन्याबाट सो तस्बिर लिएका हुन् । स्थानीयहरुबाट सो क्षेत्रमा चितुवा देखा पर्ने गरेको खबर पाएपछि नै बरार्डले ठाउँठाउँमा क्यामरा राखेका थिए । यसको केही दिन पछाडि नै रातिको समयमा एउटा चितुवालाई क्यामराले कैद गरेको हो ।

बाल्यकाल देखि नै कालो चितुवाको तस्बिर लिने आफ्नो ठूलो सपना रहेको बरार्ड बताउँछन् । उनले आफ्नो ब्लगमा लेखेका छन्,“मैले कुनै अपेक्षा बिना नै अन्तिम क्यामरा परीक्षण गरिरहेको थिएँ । यसैबीच नियालेर हेर्दा मैले अँध्यारोमा दुईटा बलिरहेका आँखा देखेँ । पहिले त मैले यो वास्तवमै कालो चितुवाको तस्बिर हो भन्ने विश्वास नै गर्न सकिन । यसरी मैले आफ्नो एक मात्र सपना वास्तवमै पूरा गरिसकेँ भन्ने कुरामा विश्वास गर्न मलाई केही दिन लागेको हो ।”

सेन डिएगो चिडियाखाना स्थित ‘इन्सटिटीउट फर कन्जरभेसन रिसर्च’ का निकोलस पिल्फोल्डले नै बरार्डको तस्बिरगत प्रमाणबारे लेखेका हुन् । पिफोल्डका अनुसार अफ्रिकामा कालो चितुवाबारे बारम्बार चर्चा भइरहने गरेपनि एक शताब्दीमा कसैले यसबारे प्रमाणित गर्न गुणस्तरीय तस्बिर खिच्न सकेको थिएन । यो भन्दा अगाडि १९०९ मा मात्र अडिस अबाबा, इथियोपियामा यसको तस्बिर लिइएको थियो जुन हाल वासिङटन डिसी स्थित राष्ट्रिय संग्राहलयमा राखिएको छ । उनी भन्छन्, “हामीले सधैँ त्यो क्षेत्रमा कालो चितुवा बस्छ भन्ने सुनेका थियौँ । यसरी अफ्रिकाभर सो क्षेत्रमा मात्र कलो चितुवा पाइन्छ र एक शताब्दीमा पहिलोपटक त्यसको तस्बिर पुष्टि भएको छ ।”

वासस्थानको कमी, जमिन विखंडन, शिकारका लागि बढ्दो आपसी प्रतिस्पर्धा, किसानसँगको संघर्ष र शिकारीहरुका कारण अफ्रिकामा यसको सङ्ख्यामा धेरै कमी आइसकेको बताइएको छ ।  तर कुल गिरावट बारे भने हालसम्म कुनै तथ्याङ्क निकाल्न सकिएको छैन । यस्तोमा दुलर्भ भएका कारण सो चितुवा ‘ट्रफी हन्टिङ’ को शिकार बन्न सक्नेमा चिन्ता व्यक्त गरिएको ट्रफी हन्टिङ अर्थात मनोरञ्जनका निम्ति दुर्लभ जङ्गली जनावरको शिकार गर्नु र तिनका विशेष अङ्ग वा पूरै शरीर पुरस्कारका रुपमा लैजानु हो जुन सामान्यतया शिकार सफल भएको प्रमाणित गर्न प्रदर्शनमा राखिन्छ । बाह्रखरीबाट

Leave a Reply

Scroll to Top
%d bloggers like this: