राजिनामापछि अष्ट्रेलियाकी राजदूत शेर्पा स्वदेश फर्कंदै

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा १६ माघमा स्वदेश फर्कंदैछिन्। दुई साताअघि नै राजिनामा बुझाएर उनी व्यवस्थापन मिलाउन मात्र अष्ट्रेलिया गएकी थिइन्। उनलाई मन्त्रिपरिषद्ले बर्खास्त गर्ने निर्णय गरेको सार्वजनिक भए पनि परराष्ट्र मन्त्रालयले कुनै निर्णय नभएको बताउँदै आएको छ। तर, सरकारले उनलाई दुई साताभित्र व्यवस्थापन सकेर फर्कन निर्देशन दिएको स्रोतको भनाइ छ।

अष्ट्रेलियाबाट व्यवस्थापन सकेर स्वदेश फर्कने समय दिनकै लागि उनको राजिनामा गोप्य राखिएको स्रोतले जानकारी दियो। शेर्पाले भने राजिनामाको विषय खण्डन गर्दै आएकी थिइन्।विवादमा परेपछि शेर्पाले एक महिना नेपाल बसेर प्रधानमन्त्री केपी शर्मा ओली तथा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर आफूबारेका आरोपको सफाइ दिएकी थिइन्।

उनलाई राजिनामा गर्न सुझाव दिइएको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बताएका थिए।उनका एक निजी सहायकले पैसा लिएर अष्ट्रेलिया पुर्‍याउने गरेको आरोप लगाएपछि राजदूत शेर्पा विवादमा तानिएकी थिइन्।

Leave a Reply

Scroll to Top
%d bloggers like this: