एनआरएनए अफ्रिकाले दियो अक्सिजन सहितको सिलिण्डर

चितवन,वैशाख ३० । एनआरएनए अफ्रिकाको मातृभूमीमा अक्सिजन आपूर्तिका लागि सहयोग अभियान अन्तर्गत पूर्वी चितवनको बकुलहर अस्पताललाई अक्सिजन सहित १० थान सिलिण्डर सहयोग हस्तान्तरण गरिएको छ ।

२ लाख ५० हजार मूल्य बराबरको अक्सिजन सहितको सिलिण्डर हस्तान्तरण गरिएको हो । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद सिसेल्सकी उपाध्यक्ष अनु थापाले रत्ननगर नगरपालिकाका मेयर नारायण वन र बकुलहर अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठलाई अक्सिजन सहितको सिलिण्डर हस्तान्तरण गनुभएको हो ।

सिलिण्डर हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख वनले जनस्तरवाट प्राप्त सहयोगले यो अस्पताल संचालनमा ठूलो टेवा पुगेको बताउनुभयो । प्रदेश स्तरिय अस्पताल भएपनि जनशक्ति र उपकरणहरुको अभावले लक्ष्य अनुसार अस्पताल संचालन गर्न कठिनाई भइरहेको जानकारी दिनुभयो । अस्पतालका लागि पिसिआर मेसिन सहित अन्य आवश्यक उपकरण र जनशक्ति माग गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठले विदेशमा बसेर पनि मातृभूमीका लागि संकलन गरिएको पैसाले बकुलहर अस्पताललाई सहयोग गरेकोमा खुशी व्यक्त गर्नुभयो । पूर्वी चितवनका ३ लाख जनतालाई अस्पतालले प्रत्यक्ष सेवा दिँदै आएको छ ।

८४ वटा वेड भएको अस्पतालले निकटमै कोभिडका विरामीको स्वास्थ्य उपचार गर्ने तयारी गर्दैछ । अस्पतालका निर्वतमान अध्यक्ष श्रेष्ठले अस्पतालमा अझै अक्सिजन सहितको सिलिण्डर अभाव रहेको बताउनुभयो । ८४ वटा बेड भएको अस्पतालमा प्रति वेड एउटा सिलिण्डर दिएपनि ८४ वटा आवश्यक पर्ने उहाँको भनाई छ ।

आज सहयोग प्राप्त सिलिण्डर सहित २७ वटा सिलिण्डरको जोहो भएको छ । ‘अझै जोहो गर्न बाँकी छ’ उहाँले भन्नुभयो । हस्तान्तरण कार्यक्रममा अस्पतालका राजेन्द्र कुँवर, प्रमिला पोखरेल, सुरेश श्रेष्ठ, एनआरएनए सिसेल्सका सदस्य विवेक लामा, सुरज खत्री, पत्रकार सन्तकुमार चौधरी, शिशिर सिंखण्डा लगायत सहभागी थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: