पार्टी ह्वीप नमान्ने थापा लाई जनमोर्चाले सोध्यो स्पष्टीकरण

वैशाख २९ । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टी ह्वीप नमानेको भन्दै पार्टीले स्पष्टिकरण सोधेको छ । गण्डकी प्रदेशमा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा सरकार गठन गर्ने भनी हस्ताक्षर गर्न भनेपनि हस्ताक्षर गर्न अस्विकार गर्नुभएको थियो । नयाँ सरकार गठनका लागि काँग्रेस, माओवादी र जसपा गठबन्धनलाई सहयोग गर्न पार्टीले गरेको निर्णयविरुद्ध गएकाले उनलाई स्पष्टिकरण सोधिएको हो ।

पार्टीको निर्देशन नमानेको र संसदीय दलको ह्वीपलाई समेत उल्लंघन गरेको भन्दै थापालाई स्पष्टिकरण सोधिएको जनमोर्चाले जनाएको छ । गत बैशाख १५ गते अविश्वास प्रस्तावमा मतदान तोकिएका दिन बिनासूचना सांसद खिमविक्रम शाही बेपत्ता भएपछि पोखरा आएका पार्टीका महासचिब मनोज भट्टले मंगलबार हस्ताक्षर गराउनका लागि थापाकोमा पुगेका थिए।

तर, सांसद थापाले हस्ताक्षर नगर्ने बरु पार्टीको कारबाही खेप्न तयार रहेको अभिव्यक्ती दिनुभएको थियो । प्रदेशमा जनमोर्चाका ३ सांसद छन् । सांसद पियारी थापा र खिम विक्रम शाहीले हस्ताक्षर गरिसकेका छन् । निर्धारित समयसम्म हस्ताक्षर नगरे थापालाई सांसद पदबाट हटाउने तयारी जनमोर्चाको छ ।

नयाँ सरकार गठनका लागि पाएको समयसीमा आज सकिँदै छ । यही वैशाख २६ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र दलहरूलाई नयाँ सरकार गठनका लागि आह्वान गरेको र उक्त समय सीमा आज दिउँसो ४ः०० बजे सकिँदैछ ।

यसअघि मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताले नयाँ सरकार गठनका लागि ३१ सदस्यसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने प्रयास गरेकामा अविश्वासको प्रस्तावका पक्षमा समर्थन गर्ने निर्णय गरेको जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न नमान्दा काँग्रेससहितका दललाई समस्या परेको छ ।

एकतीस सदस्य पुग्नका लागि राष्ट्रिय जनमोर्चाका तीन प्रदेशसभा सदस्यको हस्ताक्षर अनिवार्य चाहिन्छ । साठी सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा एमालेका २७ छन् भने एकजना स्वतन्त्र सांसद राजीव गुरुङ एमालेकै पक्षमा रहेका छन् । ​त्यस्तै नेपाली काँग्रेसका १५, नेकपा माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाका तीन र जनता समाजवादी पार्टीका दुई प्रदेशसभा सदस्य छन् । बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज दिउँसो ४ः०० बजेसम्म दलहरूले बहुमतसहित दाबी गर्न नसकेको अवस्थामा अल्पमतको सरकार बन्नेछ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: