पूर्वमन्त्री योगेश भट्टराइद्धारा शिलान्यास गरिएको ठाउँमा गाई चर्न थाले, बनेन नमुना बस्ती

वैशाख २० । नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका वडानम्वर ५ को राम्चे गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । गाउँ नजिकै ठूलो पहिरो गएर डाँडोनै खस्ने खतरा बढेको हो । केरुङ्गा खोलाको सिरान उक्त पहाड २०३८ सालदेखि निरन्तर झरीरहेको छ ।
वर्षेनी वर्खाको समय धेरै मात्रामा र अन्य समय सुख्खा पहिरो खसिरहने भएकाले गाउँनै बगाउने चिन्ताले उनीहरु जीवन रक्षाको हारगुहार गरिरहेका छन् । सोही पहिरोको त्रासले केहीले गाउँ नै छाडेका छन् भने आयस्तर कम भएका धेरैले आफ्नो जीवन जोखिमको दाउमा राख्दै दैनिकी कटाइरहेका छन् । गाउँका सक्रिय स्थानीय आस बहादुर चितौरे मगर भन्नुहुन्छ,“सुख्खा पहिरो समेत गएर गाउँको नजिकै धाँजा फाँटेको छ । ठूलो पहिरोले कतिवेला गाउँनै सोरेर लैजान्छ । डर र त्रासमा दैनिकी कटाइरहेका छौँ ।”


उहाँका अनुसार पहिरोकै कारण कच्ची सडक पनि भत्कने जोखिममा छ । त्यसपछि आधारभूत विद्यालय छ । यसरी एकपछि अर्को संरचनासँगै गाउँनै सखाप पार्ने पहिरो नियन्त्रण गर्न माग गर्दा पनि कसैले नसुनेको स्थानीयहरुको भनाई छ । अहिले अर्को सडक तलबाट गाउँसम्म पुर्याइएको छ।

पहिरो रोक्न केही बजेट सहित तारजालीको काम गरेपनि त्यसले कुनै काम नगरेको स्थानीयले बताए । ‘पहिरो रोक्नै नसक्ने खालको छ, बजेट मात्रै सकिने हो यहाँ त, उनीहरुले भने ,“हामीलाई अन्तै सारिदिनुपर्छ ।”
“कति भोट हालियो कति ? जिताएर पठाइयो नेताहरुलाई, स्थानीय ७१ वर्षीय केशर ठाडा राईले आक्रोश हुँदै भन्नुभयो,“पहिरो रोक्न भनेका भनेई छौँ । पहिरो रोक्न सम्भव नभए सुरक्षित स्थानमा बस्ती बसालिदिन विलौना गर्न नपुगेको ठाउँ कहिँ छैन । धाउँदा धाउँदा म बुढो भएँ तर विलौना कसैले सुनेनन् ।” ठाडाले दोहोर्र्याइ तेर्याई भनिरहनुभयो,“आउँछन् रमिता हेरेर मात्रै गएका छन् । कतिवेला मरिने हो भन्दै ठूलो पानी पर्नासाथ जागराम बस्नुपर्छ । तर सुरक्षित स्थानमा बस्ती बसालिदिन गरेको आग्रह कसैले सुनेनन् ।”
पुस्तौँदेखि सोही ठाउँमा बसोवास गर्दै आएका स्थानीयहरु सरकारले सुरक्षित स्थानमा बस्ती सारिदिने आशामा अझै छन् । स्थानीय आस बहादुरको आशा मरेको छैन । गाउँपालिकाले राम्चेको बस्ती स्थानान्तरण गर्न धौवादीको खाली ठाउँमा तत्कालिन पर्यटनमन्त्री योगेश भट्टराईलाई लगेर धौवादी नमुना वस्ती नाम दिएर शिलान्यास पनि गरायो । तर जसलाई त्यहाँ राख्न बस्ती निर्माणको योजना अघि बढ्यो, उनीहरुनै उक्त ठाउँमा बस्न तयार छैनन् । “गाउँपालिकाले धौवादीमा लैजाने भन्यो । त्यहाँ जान भन्दा बरु ज्यान जाओस यही वस्छौँ । एकदम अपाई ठाउँ हुन्छ त्यो र हामीले खेती किसान गर्न यतै आउनुपर्छ । त्यो ठाउँले झन हामीलाई समस्या र दैनिकी कठिन बनाउने छ ।त्यसैले हामी त्यहाँ जाँदैनौँ । हामी बेसीमै झर्न चाहान्छौँ ।”


हुन त तत्कालिन मन्त्री भट्टराइले शिलान्यास गरेपनि भौतिक रुपमा केही काम भएको देखिदैन । तामझामका साथ नमुना वस्ती भनी शिलान्यास भएपनि धौवादी नमुना वस्ती लेखेर राखिएको बोर्ड भुइँमा ढलेको छ भने शिलान्यासको स्तम्भ पनि मैलिदै गएको छ । तर न त्यहाँ कुनै काम अघि बढेको छ न स्थानीयलाई सुरक्षित स्थानमा लगिदैछ । बोर्ड ढल्यो तर वस्ती उठेन ।
स्थानीय सवैजना तल्लो क्षेत्रमा बस्न चाहान्छन् । ‘कति दिन्छ देओस सरकारले जमिन तर हामी तलै (समथर भाग) मा जान तयार छौँ,’ उनीहरुले भने । राम्चेमा कच्ची सडक पुगेपनि विद्युत पुगेको छैन । सोलारको भरमा दैनिकी चलाइरहेका उनीहरु स्वास्थ्यको पहुँचबाट नजिक छैनन् । गाउँमा आधारभूत विद्यालय त छ तर ५० घर भएको राम्चेका स्थानीय विस्थापित हुँदै अहिले ३३ घरमा सीमित छन् । ‘विद्यार्थी संख्या कम भएको भन्दै मर्ज गर्ने कुरा गाउँपालिकाले गर्छ, चितौरेले भन्नुभयो,“स्थानीयलाई गाउँमै बस्ने वातावरण वनाउन सक्दैन । अनि कहाँ बाट विद्यार्थी बढाउने हामीले?” । यही विद्यालय पनि खोस्न खोजेको आरोप उनीहरुको छ । गाउँमा शौचालय भने छ तर खानेपानीको समस्या हटेको छैन । अहिले सोलारबाट लिफ्टीङ गरेर घरघरमा धारो भएपनि घाम नलाग्दा मोटर नचलेपछि पानी नै नआउने उनीहरुले बताए । धारामा पानी नआउँदा घण्टौँ हिडेर पानी बोक्नुपर्ने वाध्यता रहेको उनीहरुले बताए । गाउँमा गाउँपालिकाले खानेपानी पुर्याइीदएको स्थानीयले बताए ।
गाउँमा वाख्रा, कुखुरा पालनको सम्भावना धेरै रहेको भएपनि स्थानीय सरकार आएको यतिका वर्षहुँदा पनि कुनैपनि तालिम नपाएको गुनासो स्थानीयको थियो । मुख्य गरी अम्रिसो खेतीबाट आम्दानी गर्दै आएका उनीहरुसँग हल गोरु फर्काएर जोत्न सम्म नमिल्ने जमिनहरु छन् । यति धेरै समस्याले घेरिनु भन्दा बेसीमा बसाई बसालिदिए दुख गरेरै सुखसँग बस्ने उनीहरुको चाहाना छ ।
तर तीन सरकार रहेको देशमा जनताको बिलौना सुन्ने फुर्सद छैन । सत्ता र कुर्चीको रक्षा र दौडमा रहेका नेता सांसदले न सदनमा यहाँको कुरा उठाएका छन् न बस्ती स्थानान्तरणको स्थायी रुपमा काम भएको जानकारी स्थानीयलाई छ । अव आउने वर्खामा बाँच्ने होकी जीवन लिला समाप्त हुने हो उनीहरु यसैमा चिन्तित छन् ।
वडा अध्यक्ष पदम वहादुर रानाले पहिरो रोक्न करोडौँ खर्च भइसकेको बताउनुहुन्छ । अव कक्रिट नै बनाएमात्रै नियन्त्रण सम्भव होला अन्यथा बस्तीनै स्थानान्तरण गर्नुको विकल्प छैन,उहाँले भन्नुभयो । राम्चेसँगै धौवादी गाउँपनि जोखिममा पर्दै गएको बताउँदै रानाले गत वर्षपनि २० लाखखको तारजाली लगाएपनि सवै बगाएको बताउनुभयो । पुग्नुपर्ने निकाय सवैमा पुगेपनि समाधान नभएको बताउँदै वडाअध्यक्ष रानाले धौवादी नमुना वस्तीलाई नै निर्माण गरी त्यही राख्नुको विकल्प नभएको जानकारी दिनुभयो । अहिले नै तल लगेर राख्न सक्ने अवस्था नभएको रानाको भनाई छ।
गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले राम्चेका जनताको जीवन रक्षा पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । नमुनावस्ती निर्माणको लागि पनि गाउँभेला गरी उनीहरुको सहमतिमा काम अघि बढेर चौथो गाउँसभाले ३ करोड बजेट विनियोजन गरेको बताउनुभयो । तर जग्गा भोगाधिकारको निर्णयका लागि केन्द्र सरकारलाई पत्रलेखि पठाएको वर्षौँ हुँदापनि कुनै सुनुवाई नभएपछि बजेट खर्च गर्न नपाएइ कामनै नभएको उहाँको भनाई छ ।“ हामी अहिले पनि त्यहाँ गइरहेका छौँ, कोरोना महामारीले भेला हुन मिलेको छैन । राम्चेसँगै धौवादी र हर्दे गाउँनै स्थानान्तरण गर्न रुद्रपुर नजिक एक सय घर निर्माण गर्ने योजनामा छौँ । केन्द्र सरकारले निर्णय गर्नासाथ काम हुन्छ । हामी उहाँहरुलाई असुरक्षित हुन दिदैनौँ । ”
यो वर्ष पनि ७० लाख बजेट विनियोजन गरिएको तर केन्द्र सरकारले निर्णय नदिँदा समस्या भएको भन्दै नमुना वस्तीमा जान नचाहानेहरुको पनि फेरि गाउँनै गएर कुरा सुन्ने अध्यक्ष पाण्डेले बताउनुभयो । यहाँको जोखिमबारे गृहमन्त्रालयमा पनि जानकारी गराइसकेको अध्यक्ष पाण्डेको भनाई छ। स्थानीयले अहिले भनेको ठाउँ साँघुरो र व्यस्थित नभएको भन्दै पहिरोको जोखिम नरहेका जग्गामा काम गर्न मिल्ने गरी बस्ती राख्ने पाण्डेले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: