लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्धारा राजीनामा

बैशाख १९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ । आज बिहान प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएसँगै राजीनामा स्वीकृत पनि भएको छ ।

संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन गर्न मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिनुभएको हो । संविधानको धारा १६९ को १ अनुसार राजीनामा बुझाइएको राजीनामा पत्रमा उल्लेख छ ।

मुख्यमन्त्रीको राजीनामासँगै लुम्बिनी प्रदेशमा सत्ता–समीकरणको खेल उथलपुथल भएको छ ।

माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाबाट मन्त्री बनेका चार सांसद कारबाहीमा परेपछि प्रदेशसभा अहिले ८१ सदस्यीय छ । वैशाख ६ मा उहाँविरुद्ध कांग्रेस माओवादीसहितका दलले अविश्वास प्रस्ताव ल्याएका थिए ।

मुख्यमन्त्री पोखरेललाई विश्वासको मत जित्नका लागि ४१ सांसद चाहिन्छ । एमालेका कुल सांसद संख्या पनि ४१ नै हो । मन्त्री बनाएपछि आफूलाई साथ दिएका जसपाका ४ सदस्य निष्कासनमा परेपछि मुख्यमन्त्री शंकर पोखरेललाई विश्वासको मत लिन ४१ मत आवश्यक पर्छ जुन एमालेको छ । तर, दुई जना प्रदेशसभा सदस्य माधव नेपाल समूहका रहेकाले उनीहरूलाई फ्लोर क्रस हुनबाट कसरी रोक्ने भन्ने एमालेमा चुनौती देखिएपछि मुख्यमन्त्रीले राजीनामा दिनुभएको हो ।

यसअघि अविश्वासको प्रस्तावमा छलफल गर्न आज लुम्बिनी प्रदेशसभाको अधिवेशन बोलाइएको थियो । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उक्त प्रस्तावउपर छलफलका लागि बोलाइएको बैठक आज दिउँसो १ बजे प्रदेशसभामा बस्ने कार्यक्रम रहेको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: